फूलजोर, ३१ असार – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा बसबाट हाम फालेका एक युवकको ज्यान गएको छ ।
काठमाडौंबाट विराटनगरका लागि छुटेको ना ७ ख १०५० नम्वरको बसबाट आफै हाम फालेका सप्तरीको शम्भुनाथ नगरपालिका–४, नरहैया बस्ने ३० वर्षीय शङ्कर प्रसाद चौधरीको ज्यान गएको हो । बाँके जंगलखण्डको सागरनाथ चोकस्थित सशस्त्र प्रहरीको बेस अगाडिको लच्का नजिक हिजो दिउँसो साँढे ३ बजेतिर बसको ढोकाबाट हाम फालेर घाइते भएका चौधरीलाई लालबन्दीमा सामान्य उपचार गरी थप उपचारका लागि बयोधा अस्पताल वीरगन्ज लैजाँदा साँझ ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनायो ।
चौधरी पथलैयाबाट बस चढेका थिए । बसका यात्रुसँग सोधखोज गर्दा बसका कर्मचारी भाडा उठाउन ब्यस्त भएका बेला चौधरी आफैले बसको ढोकाबाट हाम फालेको बताएका इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले उज्यालो अभियानसँग बताए ।
इन्स्पेक्टर श्रेष्ठले बसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताए । मृतक चौधरीले मदिरा सेवन गरेको आशङ्का गरिएको छ ।
लोकल यात्रु चढाउँदै हिँडेको बस बिग्रिएपछि नवलपुरमा सामान्य मर्मतपछि अघि बढेको थियो । दुर्घटनामा संलग्न बस अहिले प्रहरी चौकी फूलजोरमा ल्याएर राखिएको छ ।