धान रोप्दै गरेका रोपाहार ।
ब्रम्हपुरी, ३० असार – सर्लाहीमा पानी धेरै जम्दा धान रोप्नै समस्या भएको क्षेत्रमा अहिले भने धमाधम रोपाइँ भइरहेको छ ।
आकाशे वर्षा रोकिएर पानी घटेसँगै डुबानमा परेको फाँटमा पनि रोपाइँ हुन थालेको हो । सर्लाहीमा अस्ती शुक्रबार दिउँसोबाट लगातारको झरी रोकिएको छ । गएराति जिल्लाको चुरेभेगका केही ठाउँमा ठूलो पानी पर्यो ।
अन्य भेगमा भने सामान्य पानी छिट्याएर टरेको छ । कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख देवानन्द रायले पानी नै पानी हुँदा कतिपय ठाउँमा रोपाइँ प्रभावित बनिरहेको अवस्थामा अहिले पानी पर्न रोकिएपछि धमाधम रोपाइँ भइरहेको जानकारी दिए । रायका अनुसार सर्लाही जिल्लाभर करिव ७० प्रतिसत रोपाइँ भइसकेको अनुमान छ ।
यो वर्ष असारमा पर्याप्त वर्षा भइदिँदा आकाशे वर्षाको भर रहेको क्षेत्रमा चाँडै रोपाइँ भएको छ । कुलो तथा नहरको पानी लाग्ने क्षेत्रमा अहिले क्रमिक रुपमा रोपाइँ जारी छ ।
अघिल्ला वर्षहरुमा सबैभन्दा पछि रोपाइँ हुने हरिपूर्वा, ब्रम्हपुरी, चन्द्रनगर, पर्सा, ईश्वरपुरलगायत क्षेत्रमा यो वर्ष धेरैजसो किसानले धान रोपिसकेका छन् । रोपाइँ गर्न जिल्लामा यो वर्ष अहिलेसम्म पानीको अभाव भएको छैन् ।
बेलैमा रोपिएको धान हरियो समेत फिर्न थालिसकेको छ । पानी पर्न रोकिएसँगै यहाँको जनजीवन पनि सामान्य बन्दै गएको छ ।
लगातारको पानीले ठाउँठाउँमा सडक भत्काउने, तटबन्ध बगाउने जस्ता क्षति पुर्याए पनि अहिले कम भएको छ । यहाँको मौसम आज बिहानैदेखि घाम लागेर सफा रहेको छ ।
मौसम उघ्रिँदा किसान आ–आफ्नो खेतबारीको काममा ब्यस्त देखिएका छन् ।