लालबन्दी, २९ असार – सर्लाहीको मौसम आज बिहानैदेखि धाम्मधुम्म छ ।
यहाँ हिजो दिउँसोदेखि पानी परेको छैन् । तर आज भने बिहानैदेखि बेलाबेलामा घाम लाग्ने र बादल देखा पर्ने भइरहेको छ । यहाँ झण्डै एक सातादेखि लगातारजसो पानी परिरहँदा जनजीवन प्रभावित बन्न थालेको छ ।
पानीको निकास नपाएर अधिकांश पालिकामा घरभित्रै पानी पसेको छ भने केही कच्ची घर भत्किएका छन् । पिच सडकमा कालोपत्रे उप्किने, भित्री कच्ची सडकमा खाल्डाखुल्डी पर्ने हुँदा यात्रा गर्न जोखिम भइरहेको छ ।
पानी धेरै जमेकाले केही ठाउँमा रोपाइँ हुन पाएको छैन् । पूरै आकाशे वर्षाको भर रहेको क्षेत्रमा भने यो वर्ष किसानले बेलैमा धान रोपाइँ गरेका छन् । जिल्लामा अब मकै पाक्न बाँकी रहेको र धानको बिउ तयार भइनसकेको बाहेक धेरैजसो किसानले रोपाइँ सकिसकेका छन् ।
निरन्तरको वर्षापछि खोलाले ठाउँठाउँमा बाँध भत्काउने र खेतीयोग्य जमिन कटान गरिरहेको छ । हिजो दिउँसोदेखि भने पानी पर्न रोकिँदा अहिले खोलामा बाढी घटेको छ ।
लगातारजसो नै पानी पर्दा बाहिर निस्किएर काम गर्नुपर्नेहरु र यात्रा गर्नुपर्नेहरु ज्यादा प्रभावित भएका छन् ।
भारी वर्षाले जिल्लामा भर्खरै बनाइएका सडक, पुलपुलेसा, नालालगायतका संरचनामा समेत क्षति गरेको छ ।