logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लगातारको वर्षाले जनजीवन प्रभावित


  • उज्यालो अभियान

लालबन्दी, २८ असार – सर्लाहीमा लगातारको वर्षाले जनजीवन प्रभावित बन्न थालेको छ ।

यहाँ केही दिनदेखि निरन्तर परिरहेको झरी रोकिन सकेको छैन् । दिउँसोपख केहीघण्टा पानी पर्न रोकिने गरेपनि राति र बिहानपख प्रायः पानी परिरहेकै छ ।

वर्षा नरोकिँदा बाहिर निस्किएर काम गर्नुपर्नेहरु र यात्रा गर्नुपर्नेले असाध्य सास्ती खेपिरहेका छन् । लगातार ठूलो पानी परिरहँदा सर्लाहीमा ठाउँठाउँमै सडक, नाला, तटबन्ध भत्काइरहेको छ ।

भित्री कच्ची सडक असाध्य खराब हुँदा आउजाउमा समस्या भइरहेको छ । दुर्घटनाको जोखिम उत्तिकै बढेको छ ।

पूर्व पश्चिम राजमार्गको बाँके पुलसहित विभिन्न पुल र लच्कामा पिच उप्किएर खाल्डाखुल्डी बढेका छन् । पर्याप्त वर्षा हुँदा धान रोपाइँमा उल्लेख्य प्रगति भएपनि कतिपय ठाउँमा धेरै पानी जमेर रोपाइँ नै प्रभावित बनेको किसानले बताएका छन् ।

केही ठाउँमा रोपेको रोपो पनि डुबानमा परेको छ । पूरै आकाशे वर्षाको भर रहेको क्षेत्रमा भने जम्ने गरी पानी पर्दिदा ठूलो राहत मिलिरहेको किसानले बताएक छन् ।

लगातारको वर्षाले खोलाबाट समेत हिँड्न नपाउँदा चुरेभेगका स्थानीयको दैनिकी असाध्य कष्टकर बनेको छ । लखन्देही, बाँके, कालिन्जोर, फूलजोरलगायत खोलाले केही ठाउँमा खेतीयोग्य जमिन कटान गर्ने, बालुवा हुर्ने र तटबन्ध बगाउने गरिरहेको छ ।

कौडेना गाउँपालिकाको शिवनगरमा बस्ती जोगाउन लखन्देही खोलामा बारम्बार तटबन्ध कस्ने र बाढी आएर बगाउनेक्रम रोकिएको छैन् । पूर्व पश्चिम राजमार्गको बाँके, नवलपुर, सासापुर, हरिवन, नयाँरोडलगायत ठाउँका लच्कामा बाढी आउँदा आउजाउमा समस्या परिरहेको छ ।

पानी नरोकिँदा जिल्लाको कतिपय गाउँमा पानीको निकास नपाएर घरहरुमा पानी पसेको छ । पछिल्लो समय पानीको निकास नहुने गरी हचुवाको भरमा जथाभावी सडक, नाला, पुलपुलेसा बनाउँदा जताततै डुबानको समस्या बढेको गुनासो स्थानीयले गरेका छन् ।

निर्माणधीन रेल्वे ट्रयाकले बागमती, लालबन्दीलगायतका स्थानमा पानीे थुनिँदा डुबानको समस्या देखिएको छ ।