प्रतिकात्मक तस्बीर ।
रानिगन्ज, २८ असार – सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानिगन्जमा आज दिउँसो खेतमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
आज दिउँसो २ः३० बजेतिर भएको घटनामा ईश्वरपुर नगरपालिका–५, सखुबनी निवासी सन्तोष पाण्डेकी छोरी १० वर्षीया निसा पाण्डेको मृत्यु भएको हो । रानिगन्जका एक स्थानीयले आफ्नो निजी जग्गामा खनेको खाल्डोमा जमेको पानीमा डुबेर अचेत भएकी निसालाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि मोडेल अस्पताल लालबन्दी ल्याइयो ।
अस्पताल ल्याएर उपचार सुरु गरेको केहीबेरमै बालिकालाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले उज्यालो अभियानलाई जानकारी दिए । इन्सपेक्टर पाठकका अनुसार मृतक बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाउने तयारी भइरहेको छ ।
स्थानीयका अनुसार उक्त खाल्डोमा पौडी खेल्नका लागि सखुबनीतर्फबाट ५/६ जना बालबालिका रानिगन्जतर्फ आएका थिए । अरु बालबालिका पौडी खेलेर बाहिर निस्कन सफल भएपनि निसा भने बाहिर निस्कन सकिनन् ।
ति बालबालिका लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमा भएर बग्ने फूलजोर खोलामा आएको बाढी तरेर रानिगन्जस्थित सो खाल्डोमा पौडी खेल्न आइपुगेका थिए ।