धान रोप्दै गरेका रोपाहार ।
लालबन्दी, २६ असार – सर्लाहीमा आज बिहानैदेखि लगातार परिरहेको झरी अपरान्हबाट रोकिएको छ ।
यहाँ बिहान केही घन्टा ठूलो पानी परेको थियो । त्यसपछि दिउँसोसम्म नै झरी परिरह्यो । अहिले भने पानी पर्न रोकिएर मौसम उघ्रिएको छ ।
दिउँसो ३ बजेपछि पानी पर्न रोकिएको हो । यो वर्षको असारमा सर्लाहीसहित देशभर नै पर्याप्त आकाशे वर्षा भइरहेको छ । बेलैमा पानी परेकाले जिल्लामा धान रोपाइँमा उल्लेख्य प्रगति भइरहेको छ ।
मकै पाकेर भित्याउन बाँकी रहेको र धानको बिउ तयार नभइसकेको बाहेक अधिकांश किसानले रोपाइँ सकिसकेका छन् । कतिपयलाई अहिले रोपाइँको चटारो छ ।
लगातार पानी पर्दा यहाँको सडक भने असाध्य हिलाम्मे र खाल्डाखुल्डी हुँदा आवतजावतमा समस्या परेको छ । भित्री कच्ची सडक भल बाढीले ठाउँठाउँमा कटान गरेको स्थानीयले बताएका छन् ।
ईश्वरपुर नगरपालिका ८ रामपुर र लालबन्दी नगरपालिका ३ जब्दीलाई जोड्ने फूलजोर खोलाको दायाँबायाँको सडकको भाग आज थप कटान गर्दा जोखिम बढेको छ । त्यस्तै जिल्लाको विभिन्न स्थानमा भित्री सडक वर्षाको पानी तथा खोला खोल्सामा आएको बाढीले कटान गरेको स्थानीयले बताएका छन् ।
पानी रोकिएसँगै बाँके, फूलजोर, कालिन्जोर, लखन्देहीलगायतका खोलामा बाढी घटेको छ । उता खोलाबाढी आइरहँदा चुरेभेगका विद्यालयमा विद्यार्थी न्यून रहेका शिक्षकले बताएका छन् ।
वर्षाका कारण जिल्लामा बिजुली बत्ती अनियमित हुँदा स्थानीयले हैरानी खेपिरहेका छन् । लगातारजसो पानी परिरहेकाले यहाँ केही दिनदेखि गर्मी भने निकै कम छ ।