पूर्वाधार विकास कार्यालय मलंगवामा मध्यरातमा भुक्तानी लिनेको भिड । (तस्बीर सौजन्य : विश्वनाथ ठाकुरको फेसबुकबाट)
मलंगवा, २५ असार – सर्लाहीका अधिकांश स्थानीय तहले हिजो राति मध्यरातसम्म भ्याइनभ्याइ गरेर भुक्तानी गरेका छन् ।
राति १२ बजेपछि पालिकाको खाता यो आर्थिक वर्षका लागि बन्द भइसकेको छ । त्यसैले मध्यरातसम्म अत्यन्त चापकाबिच योजना तथा कार्यक्रमको भुक्तानी गरिएको हो ।
पालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखापाल, योजना प्रमुखलगायत जनप्रतिनिधि र कर्मचारीले राति १२ बजेसम्म कार्यालयमा बसेर भुक्तानीको काम गरे । कोठा तथा होटलमा समेत बसेर भुक्तानीको काम गरियो ।
आर्थिक वर्षको अन्तिम अर्थात् असार महिनामा आएर मात्रै विकास निर्माणका कामसँगै योजना र कार्यक्रम चलाउने परिपाटीले खाता बन्द हुने रात भुक्तानीको अत्यधिक चाप पर्ने गरेको छ ।
पालिकाको कार्यालयसँगै अन्य विकासे अड्डामा मध्यरातसम्म नै अनलाइनबाट भुक्तानी गराउने र चेक लिनेको भिडभाड देखिन्थ्यो । सदरमुकाम मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा भुक्तानी लिनेको भिड थियो ।
सो कार्यालयमा भुक्तानीको विषयमा विवाद हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी भुक्तानीको काम गरिएको छ ।
असारमा भुक्तानी लिने हतारोमा हुने अधिकांश काम झारो टराइ मात्रै हुने गरेको गुनासो नागरिकको छ ।