logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा बिहानैदेखि झरी


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी, २२ असार – सर्लाहीमा आज बिहानैदेखि झरी परिरहेको छ ।

जिल्लाका अधिकांश भू–भागमा बिहानैदेखि पानी परिरहेको हो । धमाधम धान रोपाइँ भइरहेको यो समयमा परिरहेको पानीले आकाशे वर्षाको भर रहेको क्षेत्रका किसानलाई खुसी पारेको छ ।

यो वर्ष बेलैमा पर्याप्त पानी पर्दिदाँ जिल्लाका किसान खुसी छन् । खाली खेत अर्थात् मकै लगायत अन्य बाली नलगाएको धेरैजसो खेतमा धान रोपाइँ भइसकेको छ ।

कतिपयले धमाधम रोपाइँ गरिरहेका छन् । वैदेशिक रोजगारीको बाध्यताले युवा पुस्ता विदेश पलायन हुँदा खेतीपातीको कामका लागि मजदुर पाउन भने निकै गाह्रो परेको किसानले गुनासो गरेका छन् ।

अहिले धान रोप्न र माटो हिलोको काम गर्न मान्छे पाउन मुस्किल छ । अहिलेसम्म पानीले साथ दिइरहेकाले सर्लाहीमा यो वर्ष धान खेती हुने अधिकांश खेतमा रोपाइँ हुने अपेक्षा गरिएको छ ।

सबैभन्दा पछि रोपाइँ हुने जिल्लाको उत्तरी क्षेत्र र पूर्वी बेल्टमा धेरैले रोपाइँ सकिसकेका छन् । १०÷१२ दिनदेखि निरन्तरजसो पानी परिरहेकाले रोपाइँका लागि सिँचाईको समस्या छैन् ।

अहिलेको पानीले पसाउँदै गरेको चैते धान, उखु, मकैलगायतका बालीलाई समेत फाइदा पुगेको छ । भित्र्याउने बेला भएको मकै र चैते धानलाई भने अप्ठेरो पारेको छ ।

पानी जम्ने ठाउँमा तरकारी बाली प्रभावित बनेको किसानले गुनासो गरेका छन् । यस्तै झरी परिरहँदा डुबानको समस्या रहेको शिवनगर, भाडसरलगायत क्षेत्रका वासिन्दा भने पिरोलिएका छन् ।

पानी परेर सामान्य हावाहुरी चलिरहँदा जिल्लामा केही दिनदेखि विद्युत् कटिरहने समस्याले जिल्लावासी हैरान छन् । यस्तै झरीले सर्लाहीमा असारे विकास प्रभावित भएका छन् ।

पानी परिरहँदा सडक, नाला, पुलेपुलेसाको काम रोक्नु परेको छ ।