मलंगवा, २२ असार – जिल्ला प्रशासन कार्यालय सर्लाहीले नागरिकता लिने सेवाग्राहीको अत्यधिक चाप बढेपछि पालिका अनुसार बार तोकेर सेवा दिने भएको छ ।
कार्यालयले आज साँझ एक सूचना जारी गर्दै एउटा पालिकाका वासिन्दाले तत्कालका लागि हप्तामा २ दिन मात्रै सेवा पाउने गरी पालो लगाएको हो । बलरा, हरिपुर, गोडैता, धनकौल र हरिपूर्वाका वासिन्दाले आइतबार र वुधबार सेवा पाउने भएका छन् ।
ईश्वरपुर, बसबरिया, रामनगर, कविलासी, चक्रघट्टा र पर्साका वासिन्दाका लागि नागरिकता सम्वन्धी सेवा लिन सोमबार र बिहीबार छुट्याइएको छ । मंगलबार र शुक्रबार कौडेना, मलंगवा, विष्णु, चन्द्रनगर र ब्रम्हपुरीका वासिन्दाले सेवा पाउने छन् ।
प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालकुमार अधिकारीले सूचना जारी गरी आफ्नो पालिकाको पालो भएको दिन मात्रै सेवा लिन आउन सेवाग्राहीसँग आग्रह गरेका छन् । आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई राष्ट्रिय परिचय पत्र नम्वर अनिवार्य गरिएपछि जिल्ला प्रशासन कार्यालय मलंगवामा नयाँ नागरिकता र प्रतिलिपी नागरिकता लिने सेवाग्राहीको अत्यधिक चाप बढेकाले त्यसको व्यवस्थापन एवं सरल, सहज रुपमा नागरिकलाई सेवा प्रवाहको प्रवन्ध मिलाउन बिहान, बेलुका र बिदाको दिन समेत कार्यालय खोलेर सेवा प्रवाह गरिएको जिल्ला प्रशासन कार्यालयले उल्लेख गरेको छ ।
यसो गर्दा पनि असार २८ गतेसम्मको लागि टोकन वितरण भइसकेको अवस्था छ । यस्तो अवस्थामा सेवा लिन सबै सेवाग्राहीहरु एकै दिन कार्यालय आउँदा सेवा नपाई फर्कन परिरहेको सन्दर्भलाई मध्यनजर गरी असार २३ गते भोलीदेखि अर्को सूचना जारी नभएसम्म पालिकाअनुसार पालो लगाइएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।
उनले नागरिकताका लागि मात्रै स्थानीय तह अनुसार पालो लगाइए पनि राष्ट्रिय परिचयपत्र लगायत अन्य सेवा भने सबैदिन सबैका लागि यथावत प्रवाह हुने जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लाका २० मध्ये १६ वटा पालिकाका वासिन्दालाई सेवा प्रवाह गर्दै आइरहेको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना ।