प्रतिकात्मक तस्बीर ।
मलंगवा, २२ असार – सर्लाही सदरमुकाम मलङ्गवास्थित एक प्लाई उद्योगमा आगलागी हुँदा ठूलो नोक्सान पुगेको छ ।
मलङ्गवा नगरपालिका–४, शिवसागर चोकमा सोही ठाउँका नागेश्वर राय यादवले सञ्चालन गरेको प्लाई उद्योगमा आगलागी भएको हो । आगलागीबाट प्लाई उत्पादन हुने मुख्य मेसिन (बोइलर मेसिन) पूर्णरुपमा क्षतिग्रस्त हुँदा एक करोड रुपियाँ बराबरको क्षति भएको उद्योगपति यादवले उज्यालो अभियानसँग बताए । उनका अनुसार आगलागीबाट उद्योग बन्द भएपछि दुई सय मजदुर रोजगारीबाट बञ्चित भएका छन् ।
सर्लाही प्रहरीले आज बिहान ४ बजेतिर प्लाइ उद्योगमा आगलागी भएको जनाएको छ । आगलागी लगत्तै ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए ।
मलङ्गवा नगरपालिकाको दमकल पनि घटनास्थलमा पुगेको थियो । महोत्तरी र रौतहटबाट समेत दमकल ल्याउने प्रयास गरिए पनि सुरक्षाकर्मी र मलङ्गवा नगरपालिकाकै दमकलको सहयोगमा दुई घण्टापछि आगलागी नियन्त्रणमा आएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले जानकारी दिए ।
आगलागीको कारण खुल्न सकेको छैन् । प्रहरी नायब उपरीक्षक श्रेष्ठले घटनाको अनुसन्धान भइरहेको बताए ।