logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मनसुनजन्य विपद्बाट हुने सक्ने जोखिम रोकथामका सम्वन्धमा छलफल


  • उज्यालो अभियान

हरिवन, २१ असार – मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित जोखिम रोकथाम तथा न्यूनिकरणका लागि अपनाउनुपर्ने उपायका विषयमा आज हरिवनमा सबै सरोकारवाला निकायबिच छलफल गरी विभिन्न निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीको अग्रसरतामा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षता तथा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा छलफल गरिएको हो । छलफलले पूर्व पश्चिम राजमार्गमा वर्षातको समयमा विभिन्न स्थानमा पानी जम्न गई यातायात अवरुद्ध हुने गरेको हुँदा त्यस्ता स्थानहरुमा यथासम्भव पानी निकासको लागि प्रयास गर्ने र वैकल्पिक मार्गहरुको समेत पहिचान गरी आवागमन सूचारु गर्न हरसम्भव प्रवन्ध मिलाउने निर्णय गरेको छ ।

त्यस्तै सबै स्थानीय तहले उपलब्ध विपद् सामग्री, खुल्ला एवं आश्रयस्थलको विवरण, उच्च जोखिमयुक्त स्थानको पहिचान, विपद् फोकल पर्सन, दक्ष जनशक्ति आपतकालिन विपद्को समयमा तत्काल उद्धार, राहतलगायतका कार्यमा खटाउन सकिने गरी तयारी अवस्थामा बस्ने, वर्षातका समयमा सडकमा हुने खाल्डा/खुल्डीहरु दुर्घटनाका कारण हुन सक्ने भएकाले स्थानीय तहले आफूले बनाएका सडकहरुको नियमित मर्मत सम्भार गर्ने तथा अन्य निकायले बनाएका सडक बिग्रिएर आवागमनमा समस्या भए सम्वन्धित निकायलाई यथाशीघ्र मर्मत सम्भार गरी आवागमन सूचारु गर्ने निर्णय भएको छ ।

त्यस्तै सडक किनारमा निर्माण सामग्री लगायतका मालवस्तु थुपार्नाले दुर्घटना बढ्ने भएकाले स्थानीय तहहरुले प्रहरी प्रशासनको सहायता लिइ त्यस्ता सामग्री हटाउने व्यवस्था गर्ने, विपद्को कारण राजमार्ग अवरुद्ध भएमा सुरक्षा निकायहरुले स्थानीय तहसँग समेत आवश्यक समन्वय गरी अविलम्ब सडकमा यातायात आवागमन सूचारु गर्ने र विपद् सम्वन्धी घटनाको नियमित लगत राखी त्यसको जानकारी जिल्ला आपतकालिन संचालन केन्द्रमा दैनिक पठाउने निर्णय भएको छ ।

त्यसैगरी विपद्को समयमा उद्धार र राहत कार्यलाई प्रभावकारी रुपमा व्यवस्थित गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजनमा स्थानीय विपद् सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याउने व्यवस्था मिलाउने निर्णय भएको छ ।

बैठकमा हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, भैरवी दलगण पाँचकुमारीका प्रमुख सेनानी सूर्यबहादुर कार्की, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, अन्य सुरक्षा अधिकारी, हरिवन, लालबन्दी, बागमती र ईश्वरपुरका प्रमुख प्रशासकीय अधिकृत क्रमशः देवेन्द्र सापकोटा, वसन्त न्यौपाने, हरिलाल पुरी र हीराकाजी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।