राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्न यसअघि देखि नै टोली बसिरहेको लालबन्दी ६ स्थित वडा कार्यालय ।
लालबन्दी, २० असार – सामाजिक सुरक्षा भत्ता लिँदै आएकाहरुको राष्ट्रिय परिचत्र पत्रका लागि विवरण संकलन गर्न लालबन्दी १३ मा २ दिन र लालबन्दी १५ र १६ मा पनि दुई दिन नै टोली बस्ने भएको छ ।
नगरपालिकाले आज सूचना जारी गर्दै लालबन्दी १५ र १६ को संयुक्त वडा कार्यालयमा भोली २१ गते र २२ गते टोली बस्ने उल्लेख छ । त्यही टोली त्यसपछि असार २३ र २४ गते लालबन्दी १३ पत्थरकोटस्थित वडा कार्यालयमा बस्ने छ ।
पत्थरकोटमा बस्ने टोलीले वडा नं. १२ र वडा नं. १४ नारायणखोला क्षेत्रका सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिको पनि विवरण दर्ताको काम गर्ने छ । अन्य ठाउँ भन्दा लालबन्दीमा परिचय पत्रका लागि असाध्य भिड लागेपछि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले लालबन्दीको भुगोल ठूलो भएको उत्तरी भेगका दुर्गम वडालाई मध्यनजर गर्दै केही दिनका लागि थप टोली पठाइदिएका हुन् ।
लालबन्दी ६ स्थित अहिलेको वडा कार्यालय अर्थात् पुरानो नगरपालिका भवनमा रहेको टोलीले पनि २४ गतेसम्म नै बसेर विवरण दर्ताको काम गर्ने छ । प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले हस्ताक्षर गरी जारी गरेको सूचनामा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म विवरण संकलनको काम हुने उल्लेख छ ।
विवरण दर्ता गर्न आउने सेवाग्राहीले नागरिताको प्रमाणपत्रको सक्कल, बसाईसराई गरी आएको हकमा बसाईसराई प्रमाणपत्रको सक्कल र विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको सक्कल ल्याउनुपर्ने छ ।
साउनदेखि सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचय पत्रको नम्वर समेत अनिवार्य उल्लेख गर्नुपर्ने भएपछि परिचय पत्र विवरण दर्ताका लागि पालिकाहरुमा घुम्ती शिविर जसरी खटाइएको टोली बसेको स्थान तथा जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालयमा ज्येठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिलगायत सेवाग्राहीको अत्यधिक भिड हुने गरेको छ ।