राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्न यसअघि देखि नै टोली बसिरहेको लालबन्दी ६ स्थित वडा कार्यालय ।
लालबन्दी, २० असार – लालबन्दीमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्न बसिरहेको टोली थप ५ दिन यहीँ रहने भएको छ ।
प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालकुमार अधिकारी आफै हिजो दिउँसो लालबन्दी नगरपालिका कार्यालयमा आएर नगरप्रमुख बासुदेव अधिकारीलगायतसँग छलफल गरी परिचय पत्रका लागि विवरण भर्न अझै पनि अत्यधिक भिड रहिरहेकाले थप ५ दिन टोली राख्ने निर्णय गरिएको हो । हिजोको छलफलबाट नगरको उत्तरी भेगका दुर्गम वडालाई मध्यनजर गर्दै त्यस क्षेत्रमै थप अर्को नयाँ टोली समेत पठाउने निर्णय गरिएको छ ।
अहिले पूर्व पश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिकाको पुरानो कार्यालय (हालको वडा नं. ६ को कार्यालयमा) बसिरहेको टोलीलाई यहीँ राख्ने र चुरेभेगलाई लक्षित गरी अर्को नयाँ टोली पठाउने निर्णय भएको हो । लालबन्दी ६ को वडा कार्यालयमा बसिरहेको टोलीले असार १४ गतेदेखि ‘अफलाईन’ विवरण दर्ता गराइरहेकाले विवरण ‘अनलाईन’ गर्न आज बिहीबार एक दिन यो स्टेशन पनि बन्द गरिने र भोलीबाट अहिलेको स्टेशनलाई पनि चालु गरिने र चुरेभेगमा बेग्लै स्टेशन राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।

नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृतलगायत बिच भएको छलफल ।
उनले भौगोलिक हिसाबले लालबन्दी नगरपालिका ठूलो रहेको र चुरेभेगका दुर्गम बस्ती पनि धेरै रहेकाले चुरेभेगका लागि बेग्लै थप टोली खटाउन लागिएको बताए । लालबन्दी नगरपालिकाको उत्तरी चुरेभेगमा पर्ने वडा नं. १२, १३, १४, १५ र १६ का लागि अर्को टोली खटिने भएको हो ।
वडा नं. १२ जियाजोर क्षेत्र, वडा नं. १३ पत्थरकोट क्षेत्र र वडा नं. १४ नारायणखोला क्षेत्रका लागि एक ठाउँमा र वडा नं. १५ र १६ परवानिपुरका लागि एक ठाउँमा गरी ५ दिनभित्र पालैपालो विवरण दर्ताको काम हुने बुझिएको छ । १२, १३ र १४ का लागि स्टेशन रहने ठाउँ र मिति तथा वडा नं. १५ र १६ का लागि स्टेशन रहने ठाउँ र मिति भने आज वडाध्यक्षहरुसँग छलफल गरी तय गरिने नगरपालिकाको पन्जिकरण शाखाकी प्रमुख सुस्मिता गौतमले बताईन् ।
सरकारले साउनदेखि सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका व्यक्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै परिचय पत्रका लागि विवरण भनाउने ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिलगायतको अत्यधिक भिड छ ।
लालबन्दीमा एउटा मात्रै कम्प्युटर र क्यामेराबाट विवरण लिने काम हुँदा अत्यधिक भिडभाड भई हैरानी पाएको भन्दै लाभग्राहीले चर्को गुनासो गरिरहेका छन् । उनीहरुले सहज रुपमा विवरण दर्ताको व्यवस्था मिलाइदिन माग गर्दै अस्ती मंगलबार बिहान केही समय पूर्व पश्चिम राजमार्गमा निस्किएर चक्काजाम नै गरेका थिए ।
स्थानीयको गुनासो लगत्तै सिडिओ अधिकारीले हिजो नगरपालिका कार्यालयमा आएर मेयर अधिकारी, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेलगायतसँग छलफल गरी थप ५ दिन कर्मचारी राखेर विवरण लिने र उत्तरी भेगका लागि अर्को नयाँ टोली पठाउने निर्णय गरेका हुन् ।