logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सडकमा हुने अवरोध तत्काल हटाउन सिडिओले गरे सरोकारवालासँग छलफल


  • उज्यालो अभियान

मलंगवा, १९ असार – वर्षा र हावाहुरीका कारण पूर्व पश्चिम राजमार्गसहित अन्य सडकमा हुने अवरोध न्यूनिकरण र तत्काल खुलाउन पहल थालिएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलङ्गवामा सरोकारवालालाई बोलाएर यस विषयमा छलफल गरेको हो । केही दिनदेखि निरन्तर वर्र्षा भइरहँदा यहाँका विभिन्न सडकमा बारम्बार समस्या आइरहेको छ । पानी र हावाहुरीका कारण केही दिनअघि बाँके जङ्गलमा राजमार्गमै रुख ढल्दा केहीघण्टा सवारी आवागमन बन्द हुन पुग्यो ।

पूर्व पश्चिम राजमार्गको नवलपुर, सासापुर, हरिवन, नयाँरोडलगायतका लच्कामा बाढी आउँदा सवारी साधन वारपार गर्नै समस्या पर्दै आइरहेको छ । नवलपुर–मलङ्गवा सडकको हरिपुरस्थित फरहदवामा पक्की पुल निर्माण भइरहेको स्थानमा बारम्बार डाइभर्सन बगाउँदा त्यहाँ पनि समस्या भइरहेको छ ।

त्यस्तै भारी वर्षापछि जिल्लाको दर्जनौँ ठाउँमा भित्री सडकहरु भत्किँदा सवारी आवागमन प्रभावित बनिरहेको स्थानीयले बताएका छन् । भत्किएका सडक मर्मतमा पालिकालगायत अन्य सरोकारवालाले चासो नदिँदा सवारी ओहोरदोहार गर्न असाध्य समस्या भइरहेको छ । यि विषयमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न प्रहरी युनिटका इन्चार्ज, पालिकाका प्रमुख प्रशासकीय अधिकृत, यातायात कार्यालयका प्रतिनिधिलगायतलाई राखेर छलफल गरेका हुन् ।

छलफलले बन्द, हड्ताल तथा विपद्का कारण राजमार्ग अवरुद्ध हुँदा स्थानीय तहसँग समन्वय गरी अविलम्ब सडकमा यातायात सूचारु गर्ने, वर्षातका समयमा हुने खाल्डाखुल्डीहरु दुर्घटनाको कारण बन्न सक्ने भएकाले स्थानीय तहलाई आफूले बनाएका सडक नियमित मर्मत सम्भारका लागि ध्यानाकर्षण गराउने, सडक किनारमा राखिएका निर्माण सामग्री तथा बाध्ने गरिएका मालबस्तु पालिकासँग समन्वय गरी हटाउने निर्णय भएको छ ।

त्यस्तै बाढी आउँदा पुल मुनि बालुवा र ग्रेगर थुप्रिएर पुलमा क्षति पुग्न सक्ने जोखिम रहेकाले यस विषयमा सडक डिभिजन कार्यालयलाई ध्यानाकर्षण गराइ स्थानीय तह समेतको सहयोगमा पुलमुनिको बालुवा, गे्रगर हटाउने प्रवन्ध मिलाउने निर्णय गरिएको छ ।

त्यसैगरी राजमार्गमा हुने सवारी दुर्घटना न्यूनिकरणका लागि नियमित मापसे, लापसे र लाइसेन्स चेकजाँचलाई तीव्रता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।