हरिपुर, १६ असार – नवलपुर मलङ्गवा सडक अन्तर्गत हरिपुर नगरपालिकाको फरहदवामा बाढीले डाइभर्सन बगाउँदा सवारी आवतजावतमा समस्या भएको छ ।

गएराति भएको वर्षापछि ढङ्ग्राह खोलामा आएको बाढीले फरहदवामा निर्माणाधीन पुल छेउमा बनाइएको डाइभर्सन बगाएको हो । ढङ्ग्राह खोलामा पुल निर्माण भइरहेकाले दायाँतर्फ डाइभर्सन बनाएर सवारी साधन आउजाउ गर्ने व्यवस्था मिलाइएको थियो ।

डाइभर्सनमा राखिएको ह्यूम पाइप सानो भएर बाढीको पानी निकास हुन नपाउँदा समस्या भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक यादव सापकोटाले उज्यालो अभियानसँग बताए । उनका अनुसार अहिले जेसिबीको सहायतामा सुरक्षाकर्मी खटिएर डाइभर्सन बनाउने काम गरिरहेका छन् ।
नवलपुर–मलङ्गवा सडकमा चल्ने गाडीलाई अहिले गाउँको भित्री बाटो हुँदै गन्तव्यतर्फ पठाउने काम गरिरहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।