नवलपुर, १५ असार – नेपाली सेनाको भैरवीदल गण पाँचकुमारी ब्यारेकले सर्लाहीका आठवटा विद्यालयका विद्यार्थीलाई राष्ट्रिय सेवा दल (एनसिसी) तालिम दिन सुरु गरेको छ ।
बरहथवा नगरपालिकामा ९ मा रहेको मुक्तेश्वर गणेश रामसखी जनता माध्यमिक विद्यालय मूर्तिया, हरिपुर नगरपालिका १ मा रहेको पाँचकुमार रामऔतार माध्यमिक विद्यालय हजारबिघा, ईश्वरपुर नगरपालिका ६ मा रहेको लालीगुराँस एकेडेमी बयलवास, कविलासी नगरपालिका ६ मा रहेको मदनपुर जमुनिया वीरनगर माध्यमिक विद्यालय मदनपुर, बरहथवा नगरपालिका ६ मा रहेको सरस्वती माध्यमिक विद्यालय हजरिया, बरहथवा ८ मा रहेको माध्यमिक विद्यालय आनन्दनगर टाँडी, विष्णु गाउँपालिका ३ मा रहेको माध्यमिक विद्यालय मधुवन र बरहथवा १८ मा रहेको राधाकृष्ण जनता माध्यमिक विद्यालय श्रीपुर महोलियाका विद्यार्थीलाई राष्ट्रिय सेवा दल तालिम दिन सुरु गरिएको हो ।
यि आठवटै विद्यालयमा हिजो एकैदिन ब्यारेकका अधिकृतद्वारा प्रवचन दिई तालिमको सुरुवात गरिएको भैरवीदल गणका गणपति एवं प्रमुख सेनानी (कर्णेल) सूर्यबहादुर कार्कीले दिए । राष्ट्रिय सेवा दल तालिमको समय अवधी १०० दिन रहेकोमा ७९ दिन सस्थागत तालिम विद्यालयमा संचालन गरी क्याडेट छात्र/छात्रालाई एफ.सि/वि.सि, नक्सा अध्ययन, विपद् ब्यवस्थापन, ड्रिल, तेक्वान्दो, एरोविक्सहरुको सैद्धान्तिक तथा ब्यवहारिक ज्ञान दिईने गणले जनायो ।
त्यसपश्चात विभिन्न जिल्लाका एनसिसी विद्यालयका छात्र/छात्रालाई समावेश गरी २१ दिनको वार्षिक सामूहिक क्याम्प संचालन गरिने गणपति कार्कीले बताए ।
उनका अनुसार “अनुशासन नैं राष्ट्र सेवाको मुल जग हो” भन्ने आदर्श वाक्य भएको राष्ट्रिय सेवा दलको मुख्य लक्ष्य युवा वर्गलाई अनुशासित, बफादारिता, ईमान्दारिता, राष्ट्रिय एकताको भावना र नेतृत्व क्षमताको विकास गराउनुको साथै भविष्यमा विपद्को समयमा उद्धार तथा राहत कार्यमा स्वयंसेवकको भूमिका निर्वाह गर्न सक्ने दक्ष युवा दस्ता तयार गर्ने उद्देश्य अनुसार तालिम संचालन भएको हो ।