डुबानमा परेको शिवनगर गाउँ । (तस्बीर : निरज यादव)
हरिवन, १४ असार – आज बिहान करिव ७ घण्टा भएको भारी वर्षाले सर्लाहीको उत्तरी भेगमा व्यापक क्षति गरेको छ ।
ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकामा धेरै क्षति पुगेको हो । चुरेभेग र पूर्व पश्चिम राजमार्ग क्षेत्र आसपास राति २ बजेदेखि बिहान ९ बजेसम्म मुसलधारे वर्षा भयो ।
वर्षापछि यि पालिकाका विभिन्न बस्तीमा पानी निकास हुन नपाएर घरभित्रै पसेको छ । दिउँसोबाट घाम लागेर मौसम उघ्रिएपछि जताततै जलमग्न भएको बस्तीमा विस्तारै पानी घट्दै छ ।

डुबानमा परेको बागमती काजिराम टोल ।
निकास नदिई सडक निर्माण गर्दा धेरै जसो ठाउँमा समस्या देखिएको छ । सडक तथा नालाको पानी घरभित्र पस्दा धेरैले आज सास्ती खेपे ।
लालबन्दी नगरपालिकाको बजार क्षेत्र पर्ने वडा नं. ७ र आसपासका वडा नं. ५, ६, ८, ९ र १७ मा धेरै ठाउँमा पानीले निकास नपाउँदा घरभित्र पानी पस्यो । नगरपालिकाहरुले डोजर परिचालन गरी ठाउँठाउँमा निकास खोलेर जमेको पानी कटाउने काम गरेका छन् ।
बिहानको पानीले प्रायः होँचो भूभागमा रहेको क्षेत्र डुबानमा परेको हो । वर्षेनि डुबानको समस्या खेप्दै आएका बागमती नगरपालिका १२ काजिराम टोलका स्थानीयले पनि ७ घण्टाको वर्षापछि आज डुबानको समस्या खेपेका छन् । अधिकांश घरमा पानी पसेर क्षति पुर्याएको स्थानीय रोशन तामाङले जानकारी दिए ।

सासापुरमा बाटो कटान गर्दै खेतमा पसेको बाढी ।
पानी निकासाको व्यवस्था नगरी जथाभावी सडक तथा पुलपुलेसा बनाइदिँदा वर्षेनि मुख्य बजार क्षेत्र समेत डुबानमा पर्न थालेका छन् । ७ घण्टासम्मको भिषण वर्षाभएपछि यहाँको बागमती, लखन्देही, कालिन्जोर, फूलजोर र बाँके खोलामा बिहान ठूलो बाढी आएपनि अहिले विस्तारै कम भइरहेको छ ।
पूर्व पश्चिम राजमार्गको विभिन्न लच्कामा बाढी आउँदा बिहान केहीबेर सवारी आवागमन नै रोकिएको थियो । बागवानी केन्द्र अगाडि र सासापुरस्थित तिनघरे लच्कामा अहिले साँझसम्म नै बाढी आइरहेकाले मोटरसाइकल, स्कुटर, जिप, कारलगायतका सवारीलाई आउजाउ गर्न कठिनाई भइरहेको छ । तर पनि जोखिम मोलेर चालकले साना गाडी समेत कटाइरहेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख (इन्स्पेक्टर) मदन थापाले बिहान केही समय समस्या भएपनि अहिले भने सवारी संचालनमै रहेको बताए ।
दक्षिणी भेगमा हल्का वर्षा भएपनि उत्तरी भेगमा ठूलो पानी परेर लखन्देही खोलामा बाढी आउँदा कौडेना गाउँपालिका १ शिवनगर बस्तीमा पानी छिरेको छ । वर्षेनि बाढीले सताउने शिवनगरमा उत्तरी भेगबाट गएको ठूलो बाढी पस्दा कच्ची घरहरुमा पसेर क्षति गरेको स्थानीय पत्रकार निरज यादवले जानकारी दिए ।
मलंगवा नगरपालिकाको भाडसरमा पनि डुबानको समस्या सुरु भएको छ । बिहानको पानीपछि जताततै भल बाढी बग्दा भित्री बाटोहरुमा पनि धेरै क्षति गरेको छ ।
ईश्वरपुर ८ रामपुर र लालबन्दी ३ जब्दीलाई जोड्ने फूलजोर खोलाको पुल अन्तर्गत जब्दीतर्फको भागमा थोरैभाग सडक बगाउँदा पैदल र साइकल, मोटरसाइकलबाहेक चार पांग्रे गाडी आउजाउ रोकिएको लालबन्दी ३ का वडाध्यक्ष वुद्धदेव चौधरीले बताए ।
भल बाढीले उत्तरी भेगका ठाउँठाउँमै भित्री बाटोहरु काटेको छ भने जताततै खाल्डाखुल्डी भएका छन् । भल बगेर मकै, तरकारीलगायतका बाली क्षति पनि पुर्याएको छ ।
ठूलो पानी परेपछि जिल्लामा धान रोपाइँ भने तिव्रताका साथ अघि बढेको छ ।
विद्युत् अनियमित भएको छ । मलंगवा, बरहथवा र लालबन्दी वितरण केन्द्र अन्तर्गतको अधिकांश ठाउँमा मर्मतको काम सकेर बत्ती सूचारु भएको छ भने कतिपय ग्रामीण भेगमा मर्मतको काम जारी छ ।
जिल्लाकै कर्णाली भनेर चिनिने नारायणखोलामा केही दिन अघिदेखि नै विद्युत् अवरुद्ध छ । खोलामा बाढी आएपछि चुरेभेगको नारायणखोलासहित पिपलदमार, शिर कालिन्जोर, भित्रीखोलासहित खोलाको बाटो भएर जानुपर्ने ठाउँहरुमा यातायातका साधन ठप्प भएका छन् ।
वर्षा सुरुभएसँगै चुरेभेगका वासिन्दाको दैनिक कष्टकर बनेको छ ।