हरिपुर, १४ असार – सर्लाहीमा धान रोपाइँ सुरु भएको छ ।
पानी पर्न सुरु भएसँगै जिल्लामा धान रोपाइँ सुरु भएको हो । जिल्लाभरकै किसान रोपाइँको काममा ब्यस्त हुन थालेका छन् ।
धानको बिउ तयार भइसकेको किसानले रोपाइँ सुरु गरेका छन् भने बिउ तयार हुन बाँकी किसानले रोपाइँका लागि आलिभित्ता गरेर राखेका छन् । कृषि ज्ञान केन्द्र मलङ्गवाका प्रमुख देवानन्द रायले जिल्लाभर नै धान रोपाइँ सुरु भएको जानकारी दिए ।
उनका अनुसार सर्लाहीमा ४६ हजार हेक्टर जग्गामा धान खेती हुने गरेको छ । अहिले प्रायः कुलो, नगर र बोरिङको पानीबाट रोपाइँ सुरु भएको बताए ।
किसानले पछिल्लो समय खेती लगाउन मजदुरको अभाव भने निकै नै खेपिरहेका छन् । अधिकांश युवा वैदेशिक रोजगारीमा जाँदा धान रोप्ने तथा अन्य बाली लगाउने बेला काम गर्ने मानिस पाउन मुस्किल पर्ने गरेको किसानको गुनासो छ ।
खेतमा काम गर्ने कामदारको अभाव, खडेरी र समयमै मलखाद नपाउँदा धानसहित अन्य कृषि उत्पादनमा वर्षेनि गिरावट आइरहेको किसानले बताएका छन् ।