हरिवन, १४ असार – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मालपोत र नापी कार्यालयका कर्मचारीलाई सेवाग्राहीबाट गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका छन् ।
सर्लाहीको हरिवन नगरपालिका–९, नोँचामा आज मालपोत र नापी कार्यालय हरिवनको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री अधिकारीले सेवाग्राहीको ज्यादा गुनासो आउनेमध्येको प्रमुख कार्यालय मालपोत र नापी पर्ने गरेकाले यि दुवै कार्यालयका कर्मचारीलाई इमान्दार भएर काम गर्न निर्देशन दिएका हुन् । उनले कर्मचारीबाट काम गराउन अनावश्यक दबाब नदिन र लोभलालचमा नपार्न सेवाग्राहीसँग आग्रह गरे ।
मन्त्री अधिकारीले अदालतमा मुद्दा परेकाले भूमि आयोगमार्फत भूमि सम्वन्धी काम गराउन अप्ठेरो परिरहेको गुनासो पोखेका छन् । उनले भूमि सम्वन्धी विद्यमान ऐन, नियम संशोधनकै प्रक्रियामै रहेको समेत उल्लेख गरे ।
कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेतीले देशका उद्योग, कलकारखानालाई अझ व्यवस्थित बनाउन ती सबै सञ्चालनको जिम्मेवारी नेपाली सेनालाई दिन खोज्दा विरोध भएको दुःखेसो पोखे । उनले सिण्डिकेटका कारण आफूले गर्न लागेको निर्णयलाई विवादमा ल्याइएको बताए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा आयोजित हरिवनस्थित मालपोत र नापी कार्यालयको भवन उद्घाटन कार्यक्रममा मधेश प्रदेशसभा सदस्य जवाहारलाल कुशवाहा, नगरप्रमुख रमेश बुढाथोकी (कमल) र जग्गादाता बासु निरौलाले मन्तव्य व्यक्त राखेका छन् ।
यि दुई कार्यालयका लागि बासु निरौलाले १० र विश्वनाथ भट्टराईले पाँच कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका थिए । उनीहरुलाई आज भवन उद्घाटनको अवसरमा कदरपत्रसहित सम्मान गरिएको छ ।
हरिवनमा मालपोत र नापी कार्यालयको भवन केही महिनाअघि नै निर्माण पूरा गरी कार्यालय सञ्चालनमा ल्याइए पनि आज औपचारिक रुपमा उद्घाटन गरिएको हो ।
यि दुई कार्यालयको कार्यक्षेत्र हरिवन, लालबन्दी, बागमती, ईश्वरपुर र हरिपुर नगरपालिका पर्ने नापी कार्यालय हरिवनका प्रमुख छत्रबहादुर लुङ्गेलीले जानकारी दिए ।