लालबन्दी नगरपालिका १४ नारायणखोलास्थित लखन्देही खोलामा घर छेउमै आइपुगेको बाढी ।
लालबन्दी, १२ असार – सर्लाहीको चुरेभेग र पूर्व पश्चिम राजमार्ग आसपासका क्षेत्रमा आज बिहान भिषण वर्षा भएको छ ।
यहाँ बिहान ६ बजेपछि झण्डै दुई घण्टासम्म चट्याङसहित भारी वर्षा भएको हो । विशेष गरी जिल्लाको चुरेभेगमा ठूलो भल, बाढी नै बग्ने गरी पर्याप्त पानी परेको स्थानीयले बताएका छन् ।
जिल्लाको बाँके, फूलजोर, कालिन्जोर, लखन्देहीलगायतका खोलामा अहिले ठूलो बाढी आइरहेको छ । पर्याप्त वर्षा भएपछि आकाशे वर्षाको भरमा खेती हुने गरेको जिल्लाको उत्तरी चुरेभेगका किसान हर्षित भएका छन् ।
यसैबिच जिल्लाको उत्तरी भेगमा भारी वर्षा हुँदा सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा भने पानी पर्न सकेन । उत्तरी भेग पानी जमेर जलमग्न हुँदा दक्षिणी भेग पानी नपरेर सुक्खा छ ।
पूर्व पश्चिम राजमार्गदेखि केही किलोमिटर दक्षिणसम्म पानी परेपनि सीमावर्ती क्षेत्रमा भने वर्षा हुन नसकेको स्थानीयले बताएका छन् ।