बागमती, ११ असार – सर्लाहीका २ वटा पालिकाले हिजो आफ्नो गाउँ तथा नगरसभा गर्न सकेनन ।
बागमती नगरपालिकामा मेयर भरतकुमार थापा र उपमेयर लिलाकुमारी मुक्तान भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका कारण आज नगरसभा प्रारम्भ हुन सकेन । मेयर र उपमेयर नै निलम्बनमा परेपछि बागमतीमा चालू आर्थिक वर्षकै अन्तिममा योजनाका काम प्रभावित भएका छन् ।
मेयर थापा र उपमेयर मुक्तान अहिले अख्तियारमा धाइरहेका छन् । कार्यबाहक मेयर, उपमेयर टुंगो लाग्न नसक्दा कर्मचारी पनि अन्यौलमा छन् ।
त्यस्तै विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल प्रसाद यादव बिरामी भएर उपचारमा रहेका कारण हिजो गाउँसभा हुन सकेन ।
विष्णुका अध्यक्ष यादव अल्पमतमा छन् । यहाँ अघिल्ला केही वर्षमा पनि ढिलो गरी गाउँसभा भएका थिए ।
गत वर्ष विवाद भएका चन्द्रनगर गाउँपालिका र हरिपूर्वा नगरपालिकाले यो पटक बेलैमा नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।