नीति तथा कार्यक्रमकाे उद्घाटन गर्दै मेयर विनाेद साह तथा उपस्थित अतिथिहरु ।
हरिपूर्वा, १० असार – गतवर्ष जनप्रतिनिधि बीचकाे विवाद एवं राजनैतिक हस्तक्षेपका कारण गत फागुन ७ गतेमात्र नगरपरिषद् सम्पन्न गर्न सकेकाे हरिपूर्वा नगरपालिकाले याे वर्ष भने बेलैमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने काम सम्पन्न गरेकाे छ ।
कानून बमाेजिम असार १० गते सम्पूर्ण पालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने कार्यतालिका अनुसार सर्लाहीका हरिपूर्वा सहित १० वटा पालिकाले आजै दिउँसाेबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । जसमध्ये हरिपूर्वाले भने छाेटाे समयमै अर्थात दिउँसाे ३ बजे नै नीति तथा कार्यक्रम सम्पन्न गरेकाे छ ।
हरिपूर्वामा आगामी आव २०८१/०८२ का लागि कुल ४३ करोड ३१ लाख २३ हजार अनुमानित बजेट सहितकाे नीति कार्यक्रम प्रस्तुत गरिएकाे मेयर विनाेद साहले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहका अनुसार अब चाँडै नै विस्तृत विवरण सहितकाे बजेट सार्वनिक गरिने छ ।
याे समाचार तयार पार्दासम्म बरहथवा, हरिवन, हरिपुर, रामनगर, गाेडैता, मलंगवा, ब्रह्मपुरी, पर्सा, कविलासी, ईश्वरपुर लगायत पालिकाकाे भने कार्यक्रम जारी छ । त्यस्तै बसबरिया, बलरा, चक्रघट्टा, काैडेना, धनकाैलले केही दिनअघि नै नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् भने लालबन्दी नगरपालिकाले आज साेमबार वार्षिक बजेट नै सार्वजनिक गरिसकेकाे छ ।
बागमती नगरपालिकामा मेयर भरत थापा, उपमेयर लिला कुमारी माेक्तान सहित भ्रटाचार मुद्धामा निलम्बन परेका कारण अन्याैल छ । त्यस्तै विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल प्रसाद यादव बिरामी भएर उपचारमा रहेका कारण कार्यक्रम हुन सकेन । त्यस्तै चन्द्रनगरमा भने आजै कार्यक्रम सूरु गर्ने गरि जनप्रतिनिधि बिच छलफल जारी छ ।