logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पानी पर्न रोकिएपछि फेरि बढ्न थाल्यो गर्मी


  • उज्यालो अभियान

मलंगवा, ०८ असार – पानी पर्न रोकिएपछि सर्लाहीमा गर्मी फेरि बढ्न थालेको छ ।

यहाँ हिजोबाट उखरमाउलो गर्मी हुन थालेको हो । आज पनि बिहानैबाट चर्को घाम लागेर हपक्क गर्मी भइरहेको छ ।

मौसम धाम्मधुम्म हुने र एक/दुई झर पानी पर्दा एक सातासम्म राहत महशुस गरेका यहाँका स्थानीयले हिजोबाट पुनः गर्मी बढेपछि सास्ती खेप्न बाध्य भएका छन् ।

गर्मी बढ्दा मजदुरी गर्ने मजदुर र खेतबारीमा काम गर्ने कामदार तथा किसानहरु प्रभावित बन्ने गरेका छन् । बाहिर यात्रा गर्नुपर्नेहरुलाई पनि गर्मीले समस्या पार्ने गरेको छ ।

जिल्लामा अहिले यही गर्मीकै याममा किसानहरु रोपाइँका लागि आलीभित्ता गर्ने, मकैमा मलखाद गर्ने, उखु, तरकारीलगायतका बालीनाली गोडमेल गर्ने काममा ब्यस्त छन् ।

अब झरी पर्न सुरु भएपछि किसानले रोपाइँ सुरु गर्ने सुरसार गरेका हाम्रा संवाददाताले जनाएका छन् । नहरको पानी लाग्ने तथा पप्पसेट चल्ने एक÷दुई ठाउँमा रोपाइँ सुरु भइसकेको छ ।

ढिलो गरी धान रोप्ने किसानले भने मकै हुर्कारहेका छन् । सर्लाहीमा उत्तरी भेगमा आकाशे वर्षाको भरमा रोपाइँ हुने गरेको छ ।

उत्तरी भेगकै कतिपय ठाउँमा बाँके, कालिन्जोर, फूलजोर, लखन्देहीलगायत खोलामा बर्खायामभर स्याउले बाँध कसेर सिँचाई गर्ने गरिएको छ ।

दक्षिणी तथा पश्चिमी भेगमा बागमती र मनुष्मारा सिँचाईको नहरबाट पानी पटाएर तथा बोरिङ र पप्पसेटको सहायतामा रोपाइँ गर्ने गरिएको छ ।