logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कृषि सामग्रीको गोदाममा थन्कियो युरिया मल, किसान मारमा


  • उज्यालो अभियान

कृषि सामग्री कम्पनि नवलपुरमा रासायनिक मल लोड हुँदैँ । (तस्बीर : उज्यालो अभियान)

नवलपुर, ०८ असार – कृषि सामग्री कम्पनि लिमिटेडको गोदाममा युरिया मल थन्किँदा सर्लाहीका किसान मारमा परेका छन् ।

मकै बालीमा धमाधम मल हाल्ने समयमा कृषि सामग्रीको गोदाममा मल थन्किँदा किसान मर्कामा परेका हुन् । मधेश प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कुन पालिकाले कति मल पाउने भनी कोटा निर्धारण गरेर नपठाउँदा कृषि सामग्रीकै गोदाममा युरिया मल थन्किन पुगेको हो ।

कृषि सामग्री कम्पनि लिमिटेड नवलपुरका निमित्त कार्यालय प्रमुख ध्रुव साहले आफूहरु प्रदेशले कोटा पठाउने बित्तिकै २० वटै पालिकाका मलको डिलर रहेका सहकारी संस्थालाई युरिया मल पठाउने तयारीमा रहेको बताए । उनका अनुसार डिएपी मल भने धमाधम वितरण भइरहेको छ । “हामीसँग मल हुँदा हुँदै पनि प्रदेशबाट कोटा प्राप्त नभएकाले युरिया गोदाममै थन्काएर राख्नुपरेको छ,” साहले उज्यालो अभियानसँग बताए ।

सर्लाहीका किसानले अहिले कृषि सामग्री र साल्ट टे«डिङ दुवैको मल नपाएको गुनासो गरेका छन् । यही बेला कतिपय स्थानमा रासायनिक मलको कालोबजारी भइरहेको गुनासो समेत बढ्न थालेको छ ।

विशेष गरी चुरेभेगमा पानी परेर धेरै किसानले धमाधम युरिया मल हालिरहेका छन् । तर कतिपय किसानले भने कृषि सामग्रीको डिलर (सहकारी संस्था) र साल्ट टे«डिङको मल बिक्री गर्ने अनुमति पाएको बिक्रेताकोमा मल सक्किसकेको गुनासो गरेका छन् ।