बागमती, ०७ असार – सर्लाहीको बागमतीमा भएको सवारी दुर्घटनामा घाइते भएका अधिकांश बिरामी डिस्चार्ज भएका छन् ।
कर्मैया र नयाँरोडका स्वास्थ्य संस्थामा भर्ना भएका ११ जना घाइते डिस्चार्ज भएर आ–आफ्नो घर गइसकेका इलाका प्रहरी कार्यालय हरिवनले जनायो । दुर्घटनाका अन्य ६ घाइतेको भने एलएस न्यूरो अस्पताल कलैया, बारामा उपचार भइरहेको हरिवन प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब निरीक्षक (सई) भिमराज सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार दुर्घटनामा मृत्यु भएका ३ जनाको शव प्रादेशिक अस्पताल मलंगवामै छ । दुर्घटनामा रुपन्देहीको मायादेवी गाउँपालिका–२, बस्ने ८५ वर्षीय दशरथ कोहार, सोही ठाउँका ५० वर्षीय रामकरण केवट र रुपन्देहीको देवदह नगरपालिका–११, बस्ने ७० वर्षीय कृष्णा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।
एक जना मृतकको परिवार यहाँ आइसके पनि अन्य दुईको परिवार आउन बाँकी रहेकाले शव अस्पतालमै राखिएको सई सुवेदीले बताए । मृतक तीनै जनाको शव एउटै सवारीमा हालेर लैजाने तयारी गरिएको छ ।
े
पूर्व पश्चिम राजमार्ग अन्तर्गत बागमती नगरपालिका–१, रायमाझी चोकमा हिजो बिहान रोकिराखेको ट्रकमा बस ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए । रुपन्देहीको भैरहवाबाट जनकपुरका लागि रिर्जभ लिएर आएकाहरु चढेको लु १ ख ८८४८ नम्वरको बस रायमाझी चोकमा रोकिराखेको एन एल ०१ ए एच ९२५२ नम्वरको ट्रक (लरी) मा आएर ठोक्किँदा दुर्घटनामा परेको हो ।
ट्रकसँग ठोक्किँदा बस क्षतिग्रस्त अवस्थामा छ । बस र ट्रक दुवै बागमतीस्थित इलाका प्रहरी कार्यालय कर्मैयामा लगेर राखिएको छ ।
प्रहरीले दुवै सवारीका चालकलाई हिजो नै सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुुसन्धान अघि बढाएको छ ।