logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

चक्रघट्टा, बसबरिया र बलरामा नीति तथा कार्यक्रम प्रस्तुत, धनकौलमा उपाध्यक्षद्वारा सभा बहिष्कार


  • उज्यालो अभियान

गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै चक्रघट्टाका अध्यक्ष कृष्णकुमार यादव ।

मलंगवा, ०७ असार – सर्लाहीका चारवटा पालिकाले आज (शुक्रबार) आ–आफ्नो गाउँसभा तथा नगरसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

चक्रघट्टा गाउँपालिका, बसबरिया गाउँपालिका, धनकौल गाउँपालिका र बलरा नगरपालिकाले आज एकैदिन नीति तथा कार्यक्रम ल्याएका हुन् । चक्रघट्टामा गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

बसबरियामा संविधान सभा सदस्य किरणकुमार रायको प्रमुख आतिथ्यतामा गाउँपालिका अध्यक्ष रामसिंहासन रायले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गाउँसभामा बाचन गरेर सुनाए ।

बसबरियामा गाउँसभाको उद्घाटन हुँदै ।

बलरा नगरपालिकाले पनि आजै नगरसभा प्रारम्भ गरेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । संविधान सभा सदस्य शिवपुजन रायको प्रमुख आतिथ्यतामा नगरपालिकाका मेयर रामाशंकर प्रसाद कुशवाहाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

बलरा नगरपालिकाको नगरसभा ।

जिल्लाको धनकौल गाउँपालिकाले पनि आजै गाउँसभा प्रारम्भ गरेको छ । मधेश सरकारका पूर्व मन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा गाउँपालिका अध्यक्ष रामआश्रय साहले सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

धनकौल गाउँपालिकाको गाउँसभा ।

तर धनकौलमा गाउँपालिका उपाध्यक्ष अकली सहनीले भने गाउँसभा बहिष्कार गरेकी छन् । बजेट बाँडफाँडमा आफूसँग सरसल्लाह नै नगरिएकोमा उनी असन्तुष्ट बनेकी हुन् ।

गाउँसभा बहिष्कार गरेर हिँडेकी धनकौलकी उपाध्यक्ष सहनी ।

सर्लाहीमा यसअघि कौडेना गाउँपालिका र लालबन्दी नगरपालिकाले गाउँ तथा नगरसभा प्रारम्भ गरेर नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् ।

स्थानीय सरकार संचालन ऐन अनुसार असार १० भित्र गाउँ तथा नगरसभा प्रारम्भ गरी असार मसान्तभित्रै बजेटसहितको नीति तथा कार्यक्रम पारित गरिसक्नुपर्ने व्यवस्था छ ।