मलंगवा, ०६ असार – सर्लाहीमा पनि आजबाट एक सातासम्मका लागि ट्राफिक सचेतनामूलक कार्यक्रम सुरु भएको छ ।
सदरमुकाम मलंगवामा आज बिहान कार्यक्रमको उद्घाटन गरिएको हो । मलंगवा नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद यादव, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, नेपाली सेना भैरवीदल गण पाँचकुमारी ब्यारेकका गणपति एवं प्रमुख सेनानी सूर्यबहादुर कार्की, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहलगायत भएर कार्यक्रमको औपचारिक उद्घाटन गरेका छन् ।
मधेश प्रदेशका अन्य जिल्लामा झैँ सर्लाहीमा पनि आज औपचारिक कार्यक्रम गरी सप्ताहव्यापी अभियानको प्रारम्भ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन थापाले जानकारी दिए ।
थापाका अनुसार आज उद्घाटनका दिन सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समिति (साबिक जिविस) चोकदेखि सुजाता होटलसम्म प्रभातफेरि निकालिएको छ ।
सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम अन्तर्गत सवारी साधनको अवस्था परीक्षण, रक्तदान, चालक तथा सहचालकको स्वास्थ्य परीक्षण, यातायात व्यवसायीसँग छलफल, पर्चा पप्पलेट वितरणलगायतका कार्यक्रम गरिने ट्राफिक इन्स्पेक्टर थापाले बताए ।
ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरण र सचेतनाप्रदान गर्ने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम अघि सारेको हो ।