कौडेना गाउँपालिकाको कार्यालय । (फाइल तस्बीर)
कौडेना, ०५ असार – सर्लाहीका स्थानीय तह बजेटको तयारीमा जुटेका छन् ।
असार १० गतेभित्रै गाउँसभा/नगरसभा बोलाएर आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्नुपर्ने कानूनी व्यवस्था अनुसार गाउँपालिका तथा नगरपालिकाहरुले बजेटको तयारी अघि बढाएका हुन् ।
केही स्थानीय तहले कार्यपालिकाको बैठक राखेर बजेटबारे छलफल सुरु गरिसकेका छन् । बजेटकै तयारी स्वरुप लालबन्दी नगरपालिकाको कार्यपालिका बैठक सोमबार सम्पन्न भएको छ ।
बैठकले असार ६ गते नगरसभाको उद्घाटन गर्ने निर्णय गरेको कार्यपालिका सदस्य एवं लालबन्दी नगरपालिका ७ का वडाध्यक्ष कृष्णकुमार कार्कीले जानकारी दिए । बैठकले प्रत्येक वडालाई बजेटको खाका दिएको छ । सोही अनुसार बजेट बनाएर १७ वटै वडाले कार्यक्रम प्रस्तुत गर्ने छन् ।
कौडेना गाउँपालिकाले गाउँसभा आज प्रारम्भ गर्दै छ । गाउँसभाको आज औपचारिक उद्घाटन हुने अध्यक्ष रुपेश कुमार (बब्लु) ले बताए ।
हरिपुर नगरपालिका १ का वडाध्यक्ष नानीबाबु थापाले चालू आर्थिक वर्ष २०८०/०८१ को योजना लगभग पूरा हुने चरणमा रहेको र नयाँ आर्थिक वर्षका लागि बजेटको तयारीमा जुटेको बताएका छन् ।
उनले बजेटबारे छलफल गर्न कार्यपालिका बैठक बस्नै बाँकी रहेको बताए ।
आर्थिक वर्षको अन्तिमतिर योजना सम्पन्न गर्न ब्यस्त रहेका पालिकालाई यहीबेला बजेट तयार पारेर असार १० भित्रै गाउँसभा/नगरसभामा प्रस्तुत गर्नुपर्ने बाध्यता छ ।
सदरमुकाम मलङ्गवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले बजेट निर्माणको प्रक्रिया प्रारम्भ भइसकेको बताए । जनप्रतिनिधिबिच राम्रै सम्वन्ध रहेको पालिकाले असार १० भित्रै बजेट ल्याउने तयारी गरेका छन् ।
जनप्रतिनिधिबिच किचलो रहँदै आएको पालिकामा भने समस्या छ । जिल्लाको हरिपूर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिकाले जनप्रतिनिधिबिचको विवादका कारण चालू आर्थिक वर्षको बजेट निकै ढिलो गरी पारित गरेका थिए ।