बरहथवा, ०४ असार – सर्लाहीको बरहथवामा एक महिलाको हत्या भएको छ ।
बरहथवा नगरपालिका–१२, लौकठ बस्ने ३५ वर्षीया लिलावती देवी महतोको हत्या भएको हो । महतोको शव आज बिहान घरदेखि करिव डेढ किलोमिटर टाढा कमल रायको खेतमा फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाले जनायो ।
मृतक महिलाको अनुहार र घाँटीमा चोट देखिएको छ । प्रहरीले घटना लगत्तै मृतक महिलाका श्रीमान ३८ वर्षीय शंकर महतो र सौता (श्रीमानको कान्छी श्रीमती) २१ वर्षीया सजनदेवी महतोलाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । घटनाबारे जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम थापाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको हो ।
घटनास्थलको प्रकृतिमुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि आज दिउँसो प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । प्रहरीका अनुसार घटना भएको परिवारमा बारम्बार झगडा परेर पन्चायती बसेको थियो ।
सर्लाही प्रहरीका प्रमुख (एसपी) रवीन्द्रबहादुर सिंहले उक्त परिवारमा हिजो बेलुका पनि झगडा भएको पाइएको बताए । “घटना भएको परिवारमा बारम्बार झै–झगडा भएको देखिन्छ, हिजो बेलुका मात्रै पनि झगडा भएर मृतक महिलाले खाना नखाएको पाइयो,” एसपी सिंहले अहिले राति अबेर उज्यालो अभियानसँगको कुराकानीमा भने“घटनाबारे हामी अनुसन्धानमै छौँ, हाम्रो नियन्त्रणमा रहेका मृतकको श्रीमान र सौतासँग सोधपुछ हुँदै छ ।