logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्न सर्लाहीका ४ पालिकामा आजबाट टोली बस्दै


  • उज्यालो अभियान

तीन वर्षअघि पालिकामै कर्मचारी पठाएर राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरिँदै । (फाइल तस्बीर)

मलंगवा, ०३ असार – राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्न सर्लाहीका ४ वटा पालिकामा आजबाट टोली परिचालन हुँदै छ ।

विवरण दर्ताका लागि बलरा नगरपालिका, गोडैता नगरपालिका, ईश्वरपुर नगरपालिका र रामनगर गाउँपालिकामा जिल्ला प्रशासन कार्यालयबाट कर्मचारी परिचालन हुन लागेका हुन् । बलरा, गोडैता र ईश्वरपुर नगरपालिकामा ३ दिन अर्थात आज, भोली र पर्सी कर्मचारीको टोली बस्ने छ । रामनगर गाउँपालिकामा भने आज र भोली दुई दिन मात्रै टोली खटिने छ ।

यि चार पालिकामा बसेपछि यो टोली असार ७ गतेदेखि ९ गतेसम्म धनकौल गाउँपालिका, विष्णु गाउँपालिका, चन्द्रनगर गाउँपालिका र बसबरिया गाउँपालिकामा बस्ने छ । जिल्ला प्रशासन कार्यालय रहेको मलंगवा नगरपालिका र इलाका प्रशासन कार्यालय रहेका हरिवन र बरहथवा नगरपालिकाबाहेक बाँकी १७ वटा पालिकामा पालैपालो टोली खटिएर राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउने छ ।

आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउन अनिवार्य गरिएपछि केही दिनदेखि जिल्ला प्रशासन कार्यालय मलंगवा र हरिवन तथा बरहथवामा रहेका इलाका प्रशासन कार्यालयमा विवरण दर्ता गर्ने सेवाग्राहीको थेगिनसक्नु भिड लागेको थियो ।

कार्यालयमा एकैपटक धेरै सेवाग्राही पुग्दा काम गर्न अप्ठेरो परेको र सेवाग्राहीले पनि सास्ती खेप्नु परेपछि पालिकाकै कार्यालयमा कर्मचारी खटाएर विवरण लिन लागिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।

जिल्ला प्रशासन कार्यालयले अब आ–आफ्नो पालिकामा आउने टोलीलाई पर्खिएर राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन आग्रह गरेको छ ।

तीन वर्षअघि पनि यसैगरी प्रत्येक पालिकामा टोली परिचालन गरी राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउने काम गरिएको थियो । तर त्यसबेला धेरैले विवरण दर्ता गराउन बेवास्ता गरेका थिए ।