logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवामा अधुरो सडकको काम तत्काल सक्ने निर्णय


  • उज्यालो अभियान

मलंगवा, ०३ असार – सर्लाही सदरमुकाम मलंगवामा हुलाकी सडक अन्तर्गत टावर चोकदेखि राजश्री सिनेमा हलसम्मको सडक तत्काल निर्माण सक्ने निर्णय भएको छ ।

आज हुलाकी राजमार्ग सडक निर्माण सम्वन्धमा समन्वय बैठक बसी यस्तो निर्णय गरिएको हो । बैठकले टावर चोकदेखि राजश्री सिनेमा हल हुँदै कृष्णा चोकसम्मको सडक किनारमा व्यवस्थापन गर्न बाँकी बिजुलीका पोल विद्युत् प्राधिकरण मलंगवा वितरण केन्द्रले ७ दिनभित्र व्यवस्थापन गर्न निर्माण व्यवसायीसँग सहजीकरण गर्ने, नाला निर्माण कार्य तत्काल भोलीबाट नै अगाडि बढाउन हुलाकी आयोजना प्रमुखले आवश्यक प्रवन्ध मिलाउने, सडक कालोपत्रे सम्वन्धी कार्य यथाशिघ्र सम्पन्न गर्न आयोजना प्रमुखले नै आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।

बारम्बार मिति तोकेर निर्माण पूरा नभएको यो सडकमा अत्यधिक मात्रामा उड्ने धुलोले स्थानीय र यात्रु प्रभावित भइरहेपछि आज प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका योजना प्रमुख कृष्णकुमार महतो र प्राधिकरणको मलंगवा वितरण केन्द्रको प्रमुख उमेशकुमार यादव समेत सहभागी थिए ।

बैठकपछि प्रमुख जिल्ला अधिकारी अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंहलगायतले निर्माण अलपत्र परेको सडकको निरीक्षण समेत गरेका छन् ।