logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

फूलजोर बाबा साझेदारी वनको अध्यक्षमा पन्जियार निर्वाचित


  • उज्यालो अभियान

बयलवास, ०२ असार – फूलजोर बाबा साझेदारी वनको अध्यक्षमा नेपाली कांग्रेसका विनोद पन्जियार निर्वाचित भएका छन् ।

हरिपूर्वा नगरपालिकाको बसन्तपुर निवासी पन्जियार १६१ मत ल्याएर वनको अध्यक्षमा चुनिएका हुन् । उनीसँगै चुनाव लडेका कांग्रेसकै संस्थापन इतर पक्षका प्रदीपराज मैनालीले २५ मत मात्रै प्राप्त गरेका छन् ।

यस्तै अध्यक्षका अन्य ३ प्रत्यासी विमलेश रायले ६३, रामकिशुन यादवले ५४ र कमल मैनालीले २ मत प्राप्त गरेका छन् ।

अध्यक्षसहित अन्य सदस्यहरुमा पनि कांग्रेसको संस्थापन पक्ष, एमालेको एक समूह र लोसपाका उम्मेदवार बिजयी भएका छन् । एमाले पनि दुई समूहमा विभाजित भएको थियो ।

वनको उपाध्यक्षमा यसअघि नै सुरेन्द्र महतो सर्वसम्मत चयन भइसकेका थिए । मधेशी सदस्यमा गौरीशंकर यादव पनि निर्विरोध निर्वाचित भए ।

बाँकी सदस्यहरु मतदानमार्फत नै टुंग्याइएको छ । दलित सदस्यमा रामप्रसाद महरा १४४, आदिवासी जनजाति सदस्यमा चुल्हाई सिंह १३५, तीन जना महिला सदस्यमा सिकिबती देवी ९४, रीतादेवी घिसिङ ११६ र चन्द्रकलादेवी महरा १३०, खुल्ला सदस्यहरुमा खेमराज राय १५३, रामकैलाश राय ११६, जगदिस महतो कोइरी १११, विजय महतो ११८, मंगलबहादुर भुजेल १२२, वरुण कुमार दाहाल १५१, लालबाबु साह १२४ र वडा सदस्यबाट विष्णुबहादुर कार्की ३० मत प्राप्त गरी विजयी भएका छन् ।

फूलजोर बाबा साझेदारी वनको नेतृत्व चयन गर्न हिजो ईश्वरपुर नगरपालिका ६ स्थित नारायण माध्यमिक विद्यालय बयलवासमा मतदान भएको थियो ।

मतदानमा फूलजोर बाबा साझेदारी वन अन्तर्गत पर्ने जिल्लाको ५ पालिकाका ४७ वडाबाट छानिएर आएका ३२९ जना प्रतिनिधिमध्ये ३२२ जनाले मतदान गरेका थिए ।

मतदान सकिएपछि गएसाँझबाटै मतगणना सुरु गरी राति ११ बजे अन्तिम मतपरिणाम घोषणा गरिएको थियो । फूलजोर बाबा साझेदारी वनको चार सीमा ः पूर्व पश्चिम राजमार्गदेखि उत्तर, बाँके खोलादेखि पश्चिम, फूलजोर खोलादेखि पूर्व र घारिबथान गाउँदेखि दक्षिणतर्फ पर्छ ।