बयलवास, ०१ असार – सर्लाहीको फूलजोर बाबा साझेदारी वनको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदै छ ।
वनको नयाँ नेतृत्व छान्न नारायण माध्यमिक विद्यालय बयलवासमा अहिले बिहान ८ बजेपछि मतदान सुरु हुने बताइएको छ । तर, मतदाता विस्तारै जम्मा भइरहेकाले मतदान सुरु हुन केही समय लाग्ने देखिन्छ । मतदान दिउँसो ३ बजेसम्म हुने भनिएको छ ।
फूलजोर बाबा साझेदारी वनको चार सीमा ः पूर्व पश्चिम राजमार्गदेखि उत्तर, बाँके खोलादेखि पश्चिम, फूलजोर खोलादेखि पूर्व र घारिबथान गाउँदेखि दक्षिणतर्फ पर्छ । यस वनको नेतृत्व चयनका लागि हिजो तेस्रो साधारण सभाको औपचारिक उद्घाटन समारोह नारायण मावि सम्पन्न भएको हो ।
जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहको अध्यक्षता तथा मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयकी राज्यमन्त्री रन्जु कुमारी मंडल खङ्गको प्रमुख आतिथ्यतामा आयोजित उद्घाटन समारोहमा प्रदेश सभा सदस्य उपेन्द्र महतो, प्रदेश वन निर्देशनालयका निर्देशक जग्गनाथ जैसवाल, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलगायतको आतिथ्यता थियो ।
नेतृत्व चयन अन्तर्गतको बन्दसत्र हिजै साँझबाट सुरु भएको र आज मतदान हुन लागेको डिभिजन वन प्रमुख मन्जुर अहमदले बताए । फूलजोर बाबा साझेदारी वन अन्तर्गत ५ पालिका पर्छन । ती पाँच पालिकाका ४७ वटा वडाबाट छानिएर आएका ७ जनाको दरले प्रतिनिधि, कार्यपालिकाबाट छानिएर आएका ५ प्रतिनिधि र एक–एक जना वडा सदस्यले वनको अध्यक्ष, उपाध्यक्षसहित अन्य सदस्य चयन गर्न मतदान गर्न पाउने छन् ।
सर्लाहीका तीनवटा साझेदारी वनमध्ये जानकीनगर र लालबन्दी साझेदारी वनको चुनाव भएको धेरै समयपछि फूलजोर बाबा साझेदारी वनको बल्ल निर्वाचन हुन लागेको हो ।
दलहरुले एकआपसमा गठवन्धन गरेर उम्मेदवार उठाएका छन् । नेपाली कांग्रेसको संस्थापन र संस्थापन इतर पक्ष भने दुई धारमा छ ।