मलंगवा, ३२ जेठ – सेवाग्राहीको चाप अत्यधिक बढ्दा जिल्ला प्रशासन कार्यालयबाट सेवा प्रवाह गर्नै कठिनाई भएपछि सर्लाहीका दुई पालिकामा स्टेशन राखेर राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप कर्मचारी मगाएर ईश्वरपुर र गोडैता नगरपालिकामा स्टेशन राख्ने भएको हो । आगामी आर्थिक वर्ष २०८१/०८२ को साउन महिनाबाट सर्लाहीसहित २८ जिल्लाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई राष्ट्रिय परिचयपत्र नम्वर अनिवार्य गरिएपछि जिल्ला प्रशासन कार्यालय मलंगवा र हरिवन तथा बरहथवामा रहेका इलाका प्रशासन कार्यालयमा रााष्ट्रिय परिचयपत्रका लागि विवरण भराउनेको अत्यधिक भिड लागिरहेको छ ।
कार्यालयबाट मात्रै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउने काम हुँदा सेवाग्राही घण्टौँ पालोमा बस्नुपर्ने र कर्मचारीलाई समेत काम गर्न असाध्य समस्या पर्न थालेपछि पहिलो चरणमा दुई पालिकामा स्टेशन राख्न लागिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपाल कुमार अधिकारीले उज्यालो अभियानसँग बताए । उनका अनुसार असार २ गते आइतबारदेखि ईश्वरपुरका नागरिककको ईश्वरपुर नगरपालिका कार्यालय बयलवासमा जिल्ला प्रशासन कार्यालयबाट खटाइएको कर्मचारीले त्यहीँ राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्ने छन् ।
त्यस्तै गोडैता नगरपालिकाको कार्यालय गोडैता बजारमा रहने स्टेशनबाट गोडैता नगरपालिकासहित दक्षिण–पश्चिम भेगमा पर्ने बलरा नगरपालिका, विष्णु गाउँपालिका र रामनगर गाउँपालिकाका सेवाग्राहीको राष्ट्रिय परिचयपत्रको विवरण भर्ने काम हुनेछ । यि पालिकाका सेवाग्राहीलाई अब जिल्ला प्रशासन कार्यालयमा नआइ आ–आफ्नो स्टेशनमा गएर विवरण भराउन अनुरोध गरिएको छ ।
सेवाग्राहीको चापलाई मध्यनजर गरी गोडैता नगरपालिकामा दुईवटा स्टेशन र ईश्वरपुर नगरपालिकामा एउटा स्टेशन रहने प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए । उनले ईश्वपुर नगरपालिकामा रहने स्टेशनलाई एक साताजति त्यहाँ राखेर फेरि अर्को पालिकामा सारिने जानकारी दिए ।
पालिकामा राख्न लाएिको स्टेशनका लागि विभागबाट ३ जना कर्मचारी पठाइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनायो ।
सर्लाहीमा यसअघि प्रत्येक पालिकामा कर्मचारी खटाएर राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने काम गरिएको थियो । त्यसबेला अधिकांशले बेवास्ता गरेका थिए ।
अहिले भने सामाजिक सुरक्षा भत्ता लिन साउनदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि वृद्धवृद्धासहित सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकाको जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा भिड लागिरहेको छ ।
