हरिवन, ३० जेठ – हरिवन नगरपालिकाको वडा नं. १० ले वडा नं. ७ को सिमनादेखि बरहथवा जोड्ने सडकको किनारमा ट्रि–गार्डसहितको वृक्षरोपण गर्न सुरु गरेको छ ।
डिभिजन वन कार्यालयसँग समन्वय गरी हरिवन नगरपालिका वडा नं. १० को कार्यालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सडक दायाँबायाँ वृक्षरोपण कार्यको सुरुवात गरेको हो । वृक्षरोपण कार्यको हिजो डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मन्जुर अहमद र हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
डिभिजन वन अधिकृत अहमदले वन तथा वातावरणको क्षेत्रमा यस्ता किसिमको काम गर्न वन कार्यालय जुनसुकै निकायसँग सहकार्यका लागि सदैव तयार रहेको बताए । उनले स्थानीय तहले यस्ता कार्यमा अग्रसरता लिएमा वातावरण संरक्षणमा योगदान पुग्ने बताए ।
हरिवन नगरपालिकाकी उपप्रमुख घलानले हरिवन नगरपालिकाको नाम जस्तै हरियो वन हरिवन बनाउन सम्पूर्ण सङ्घसंस्था र टोल विकास समितिले एक आपसमा सहकार्य गरेर जानुपर्नेमा जोड दिईन् ।
हरिवन नगरपालिका १० का वडाध्यक्ष शम्भुप्रसाद मैनालीले एक व्यक्ति एक रुखको अवधारणलाई अङ्गिकार गर्दै वडाले अन्य मुख्य र सहायक सडकमा पनि आगामी आर्थिक वर्षमा यसैगरी वृक्षरोपण गर्ने लक्ष्य लिएको बताए । उनका अनुसार अहिले रोेपिएको बिरुवाको हेरचाह र संरक्षण वडाले नै गर्ने छ ।
हरिवन नगरपालिकाको वन तथा वातावरण शाखाका प्रमुख सुवास कुशवाहाले संचालन गरेका वृक्षरोपण कार्यक्रमको उद्घाटन समारोहमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा, लेखा अधिकृत प्रतीक कार्की, योजना शाखा प्रमुख उत्तम थापा, वडा नं. ७ का वडाध्यक्ष निरध्जव कार्की, अनुगमन समितिका सदस्य मिरा मिक्चन, सहायक वन अधिकृत सजन चौधरी, जानकीनगर सवडिभिजन वन कार्यालयका प्रमुख हेरोहित चौधरीलगायतको आतिथ्यता रहेको थियो ।