बेला, २९ जेठ – सर्लाहीको ईश्वरपुर नगरपालिका–११, कर्मोहानमा रहेको जनता आधारभूत विद्यालयबाट कक्षा ८ उर्तीण गरेका छात्रछात्रालाई आज साइकल वितरण गरिएको छ ।
ईश्वरपुर ११ को वडा कार्यालयले विद्यालयबाट कक्षा ८ उर्तीण गरी कक्षा ९ अध्ययन गर्न छिमेकी गाउँका विद्यालयमा जाने विद्यार्थीलाई साइकल वितरण गरेको हो । छात्र र छात्रा गरी १९ जना विद्यार्थीलाई साइकल उपलब्ध गराइएको ईश्वरपुर ११ का वडा सचिव प्रमेन्दर चौधरीले जानकारी दिए ।
वडा सचिव चौधरीका अनुसार ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य, कार्यवाहक वडाध्यक्ष रामपुकार चौधरी थारु, वडा सदस्य शैलिया देवी कुम्हार, सुमित्रा देवि मुसहर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशेश्वर महतो, प्रधानाध्यापक लालबहादुर चौलागाईंलगायत भएर विद्यार्थीलाई साइकल वितरण गरेका छन् ।
गाउँको विद्यालयबाट कक्षा ८ उर्तीण गरी बयलवास र मनर्वाको माध्यमिक विद्यालयमा भर्ना भएका विद्यार्थीलाई विद्यालय जान सहजहोस् भनी साइकल वितरण गरिएको वडा सचिव चौधरीले बताए ।