मलंगवा, २८ जेठ – बजार अनुगमनमा संलग्न निकायबीच आज सर्लाही सदरमुकाम मलंगवामा छलफल गरिएको छ ।
गत शुक्रबार सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोपालकुमार अधिकारीले बजार अनुगमन नभएको अत्यधिक गुनासोपछि आज अनुगमनमा संलग्न निकायबीच छलफल गरेका हुन् । आजको छलफलमा बजारको अवस्था कस्तो छ ? र के–कसरी अनुगमन गर्ने ? भनी अन्तरक्रिया गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।
उनले यस विषयमा पर्सी फेरि छलफल गर्ने गरी आजको अन्तरक्रिया टुंग्याइएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजार अनुगमन समिति हुन्छ ।
अब सोही समितिमार्फत बजार अनुगमन अघि बढाउने तयारी छ । स्थानीय पालिकाहरुले पनि बजार अनुगमन गर्न सक्ने भएपनि यसप्रति बेवास्ता गर्ने गरेका छन् ।
नियमित बजार अनुगमन हुन नसक्दा कालोबजारी, म्याद गुज्रिएको समान बिक्री गर्ने जस्ता विकृत असाध्य देखिने गरेको छ ।