logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पिडारीका ८६६ घरधुरीमा खानेपानी


  • उज्यालो अभियान

पिडारी, २७ जेठ – सर्लाहीको हरिपुर नगरपालिका–९, पिडारीका ८६६ घरधुरीमा खानेपानीको सुविधा पुगेको छ ।

पिडारी खानेपानी आयोजनामार्फत १६८ मिटर गहिरो २०० घनमिटर क्षमताको ओभरहेड ट्याङकी निर्माण गरी पिडारी गाउँमा खानेपानी वितरण गर्न सुरु गरिएको हो । उक्त खानेपानी आयोजनाको आज मधेश प्रदेश सरकारकी उर्जा, सिँचाई तथा खानेपानी मन्त्री बेची लुङ्गेलीले औपचारिक रुपमा उद्घाटन गरेकी छन् ।

प्रदेश सरकारको नवनियुक्त मन्त्री लुङ्गेलीले खानेपानीको अधुरा योजना पूरा गरेर नागरिकलाई पानीको सुविधा पुर्याउने आफ्नो पहिलो प्राथमिकता हुने बताईन् । उनले आफ्नो निर्वाचन क्षेत्र समेत पर्ने पिडारीमा यति धेरै घरधुरीलाई खानेपानी सुविधा पुर्याउन सहयोग गर्ने सबै निकायप्रति धन्यवाद् ज्ञापन गरिन् ।

नेपाल सरकारको ५० लाख ५० हजार, दातृ संस्था अक्सफाम र बागमती सेवा समाज नेपालको तीन करोड ७९ लाख ८३ हजार ७८५ रुपियाँ र जनसहभागिता ३३ लाख १८ हजार ८५० रुपियाँमा खानेपानी आयोजना सम्पन्न गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवनाथ साहले जानकारी दिए । उनले २०७५ सालबाट सुरु भएको खानेपानी आयोजनाको काम भर्खरै पूरा गरेर घरघरमा खानेपानी वितरण गर्न सुरु गरिएको बताए । शनिबार नै आयाेजना स्थानीय उपभाेक्ता समितिलाई हस्तान्तरण गरिएकाे बागमति सेवा समाजका पूर्व अध्यक्ष भरत कार्कीले जानकारी दिए । पानीलाई शुद्ध र सफा बनाउनका लागि अत्याधुनिक उपकरण समेत जडान गरिएकाे संस्थाले जनाएकाे छ ।

घरघरमै शुद्ध खानेपानीको धारा झरेपछि स्थानीय दंग परेका छन् । खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा संविधान सभाका सदस्य रामचन्द्र चौधरी, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पन्जियार, उपप्रमुख निलमदेवी राय यादव, पूर्व नगर प्रमुख जमिरुद्धिन मन्सुर, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, अक्स्फाम नेपालका वास प्रमुख एञ्जिल अधिकारी, विदेशी पाहुना जाेहाना काेईलर, विभिन्न वडाका वडाध्यक्ष, पार्टी प्रतिनिधिलगायतको आतिथ्यता रहेको थियो ।