logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बरहथवामा मुसहर महिलालाई वित्तीय साक्षरता तालिम


  • उज्यालो अभियान

बरहथवा, २५ जेठ – सर्लाहीको बरहथवामा मुसहर समुदायका महिलालाई वित्तीय साक्षरता सम्वन्धी २ दिने तालिम प्रदान गरिएको छ ।

शिक्षा, चेतना, ज्ञान र सीपको अभावका कारण मुसहर महिलाले दशकौँदेखि आर्थिक तथा सामाजिक समस्या झेल्दै आएका छन् । त्यसैलाई मध्यनजर गरी मुसहर समुदायका अगुवा महिलालाई वित्तीय साक्षरता तालिम प्रदान गरिएको हो ।

तालिममा वित्तीय साक्षरता भनेको के हो ? यसको फाईदा, महत्व, बचत तथा ऋण, आम्दानी, खर्चको विश्लेषण, पारिवारिक बजेट, बैंक तथा वित्तीय कारोबार, वित्तीय अनुशासन, अनलाईन बैङ्किङ, बीमा, रेमिट्यान्सका बारेमा सचेतना जगाइएको साप नेपालका प्रादेशिक निर्देशक जनक कार्कीले जानकारी दिए । मुलुकभर करिव ३ लाखको हाराहारीमा मुसहर समुदायको जनसंख्या रहेकोमा सर्लाहीमा मात्र करिव २० हजार मुसहर समुदाय छन् । करिव ९२ प्रतिसत मुसहर अशिक्षित रहेका छन् ।

अधिकांशले गाउँकै साहु महाजनसँग ३ देखि ५ रुपैयाँ व्याजदरमा ऋण लिने गरेका छन् । साहुसँग लिएको ऋणको साँवा र व्याज तिर्दैमा कमाएको पैसा सकिने भएकाले पुस्तौ देखि महाजनको घरमा हरूवाचरुवा तथा बधुवा मजदुरको रुपमा काम गर्न बाध्य रहेको मुसहर महिला सशक्तीकरण मन्च बरहथवाकी अध्यक्ष सम्झाबती माझीले गुनासो गरिन् ।

स्वस्तिक सहकारी संस्था बयलवासका व्यवस्थापक बिनोद थापा र साप नेपालका कोषाध्यक्ष केदारप्रसाद गौतमले तालिममा सहजीकरण गर्नुभएको छ । कार्यक्रममा नविल बैकका क्लष्टर म्यानेजर दिनेस अधिकारीले बैक तथा बित्तीय संस्थाको महत्व, फाईदा, बैक खाता संचालन सम्बन्धमा जानकारी दिएका छन् ।

सहभागीले तालिमपछि बैंकमा खाता खोलेर बैकमार्फत आर्थिक कारोबार गर्ने, पारिवारिक बजेट बनाउने, बीमा गर्ने, वित्तीय अनुशासन पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तालिम पश्चात सहभागीले नबिल बैंकको बरहथवा शाखाको स्थलगत अबलोकन भ्रमण गरेका थिए ।

कार्यक्रममा नवील बैक बरहथवाका शाखा प्रमुख रामवावु थापा, संचारकर्मीसहित ३२ जनाको सहभागीता रहेको थियो ।

व्यवसायिक, सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नविल बैकको सौजन्य तथा साप नेपालको आयोजनामा दुई दिने तालिमको आयोजना गरिएको साप नेपालका प्रादेशिक निर्देशक कार्कीले बताए ।