लुंगेली, अन्सारी र चौधरी ।
लालबन्दी, २५ जेठ – आज गठन भएको मधेश प्रदेशको मन्त्रिपरिषद्मा सर्लाहीबाट मात्रै तीन जना महिला मन्त्री नियुक्त भएका छन् ।
प्रदेश सरकारमा पहिलो पटक सर्लाहीबाट यतिधेरै मन्त्री र त्यसमा पनि सबै महिला समावेश गरिएको हो । जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव नेतृत्वको निवर्तमान प्रदेश सरकारमा श्रम तथा यातायात मन्त्री रेहकी बेची लुङ्गेलीले आज जनमत पार्टीका सतिसकुमार सिंहको नेतृत्वमा गठन भएको सरकारमा उर्जा, सिँचाई तथा खानेपानी मन्त्रीको जिम्मेवारी प्राप्त गरेकी छन् ।
सर्लाहीको क्षेत्र नं. १ (ख) बाट निर्वाचित लालबन्दी नगरपालिका–७, निवासी प्रदेशसभा सदस्य लुङ्गेलीलाई उनको दल नेकपा एकीकृत समाजवादी पार्टीको भागमा उर्जा, सिँचाई तथा खानेपानी मन्त्रालय परेपछि सोही मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तै मधेश प्रदेशसभामा एक मात्रै सिट रहेको नेपाल समाजवादी पार्टीकी प्रदेशसभा सदस्य विमला अन्सारीले गृह, संचार तथा कानून मन्त्रालयको जिम्मेवारी प्राप्त गरेकी छन् । मलङ्गवा नगरपालिका–३, निवासी अन्सारी नेपाल समाजवादी पार्टीको मधेश प्रदेशसभामा एक्लो सांसद हुन् ।
उनी पार्टीले प्राप्त गरेको समानुपातिक मतका आधारमा प्रदेशसभा सदस्य बनेकी हुन् । मधेश सरकारको गृह मन्त्रीमा नियुक्त अन्सारी सङ्घीय सरकारका पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीको श्रीमती हुन् ।
त्यसैगरी मधेश प्रदेशसभामा एउटै मात्रै सिट रहेको नागरिक उन्मुक्ति पार्टीकी प्रदेशसभा सदस्य उर्मिला चौधरी पनि प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रीमा नियुक्त भएकी छन् । ईश्वरपुर नगरपालिका–९, रामनगर निवासी चौधरी मधेश प्रदेशसभामा समानुपातिक मतका आधारमा एक्लो प्रदेशसभा सदस्य बनेकी हुन् ।
नवनियुक्त मुख्यमन्त्री सिंहसहित सर्लाहीका तीन जना समेत गरी ११ जना मन्त्री र तीन जना राज्यमन्त्रीलाई आजै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शपथग्रहण गराएकी छन् ।