हजरिया, २४ जेठ हावाहुरीले सर्लाहीको बरहथवा नगरपालिका–१, हजरियामा ४७ वटा घरको छानो उडाएको छ ।
गएरातिको हावाहुरीले बरहथवा नगरपालिका वडा नं. १ को दुसाद टोल र नयाँबजार टोलमा व्यापक क्षति पुर्याएको हो । इलाका प्रहरी कार्यालय हजरियाले सङ्कलन गरेको क्षतिको विवरण अनुसार नयाँबजारमा ४१ घर र दुसाद टोलमा छ वटा घरको छानो उडाएको छ ।

बरहथवा नगरपालिका १ का वडाध्यक्ष राकेशकुमार सहनीले मध्यरातमा आएको हावाहुरीले गाउँका कच्ची घरको छानोमा व्यापक क्षति पुर्याएको उज्यालो अभियानसँग बताए । वडाध्यक्ष सहनीका अनुसार हावाहुरीले दुईसय बढी रुखविरुवा ढालेको छ ।
बिजुलीको पोल समेत ढालेकाले गाउँभर विद्युत् अवरुद्ध भएको छ ।

घरको छानो, रुख र बिजुलीको पोलमा पुर्याएको क्षति हेर्दा ठूलो मानवीय क्षति टरेको वडाध्यक्ष सहनीले जनाए ।
राति सुतेका सबै मानिस तत्काल सुरक्षित भइ बसेकाले मानवीय क्षति भने हुन पाएन । हावाहुरीले दुई गाउँका अधिकांश स्थानीयले टायल तथा खपडाले छाएको घरको छानोमा क्षति गरेको छ ।

दुसाद टोल र नयाँबजारमा गरी हावाहुरीले आठ लाख बढीको क्षति पुर्याएको इप्रका बरहथवाका डिएसपी गौतम थापाले बताए ।
सर्लाहीमा आज बिहानपख पनि केहीबेर भीषण हावाहुरी चलेपनि ठूलो किसिमको क्षति कहिँ नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायो ।