बागमती, २३ जेठ – सर्लाहीको बागमती युवा क्लब बि डिभिजन लिगमा बढुवा भएको छ ।
पहिलो प्रयासमा नै सी डिभिजनको बागमती युवा क्लब बी डिभिजनमा बढुवा हुन सफल भएको हो । काठमाण्डौमा जारी सी डिभिजन लिगमा २२ अङ्कसहित शीर्ष स्थानमा रहँदै क्लब बी डिभिजनमा बढुवा हुन सफल भएको क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।
पछिल्लो समय मोफसलको प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आइरहेको बागमतीले जारी सी डिभिजन लिगमा राम्रो खेल प्रदर्शन गर्दै बी डिभिजनमा बढुवा हुने अवसर प्राप्त गरेको हो । आफ्नो क्लब बी डिभिजनमा बढुवा भएसँगै क्लबका पदाधिकारी, खेलाडी, जनप्रतिनिधि र स्थानीयले खुसी व्यक्त गरिरहेका छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सर्लाहीको बागमती युवा क्लबसहित सुर्खेतको आरसी ३२ फुटबल क्लबलाई पनि बी डिभिजनमा बढुवा गरेको छ ।
जारी सी डिभिजन लिगमा ११ खेल खेलेको बागमतीको २२ र १२ खेल खेलेको आरसी ३२ फुटबल क्लबको पनि समान २२ अङ्क नै रहेको छ ।