logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

घारिबथानमा प्रहरी चौकी राखिने 


  • उज्यालो अभियान

घारिबथानमा प्रहरी चौकी स्थापनाका लागि अनुगमन गर्न आएका डिएआइजी यज्ञविनोद पोखरेलसहित मेयर मनोजकुमार आचार्य, वडाध्यक्ष देविबहादुर खत्री र स्थानीयवासी ।

घारिबथान, २२ जेठ – सर्लाहीको उत्तर–पूर्वी चुरेभेगस्थित ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा प्रहरी पोष्ट राखिने भएको छ ।

साबिकको सिङ्गो कालिन्जोर गाउँ विकास समिति (गाविस) मा प्रहरी पोष्ट स्थापना हुने भएपछि स्थानीय खुसी भएका छन् । बारम्बारको पहलपछि गृह मन्त्रालयले घारिबथानमा तत्काल अस्थायी प्रहरी पोष्ट राख्न अनुमति प्रदान गरेको छ ।

घारिबथानमा प्रहरी पोष्ट स्थापनार्थ मधेश प्रदेशका प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) यज्ञविनोद पोखरेलले केही दिनअघि स्थलगत निरीक्षण गरेका छन् । डिआइजी पोखरेललाई ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य र ईश्वरपुर नगरपालिका १२ का वडाध्यक्ष देविबहादुर खत्रीले घारिबथानको बस्तुस्थिति र प्रहरी चौकीको आवश्यकताबारे जानकारी गराएका छन् ।

वडाध्यक्ष खत्रीले तत्कालका लागि वडा कार्यालय नजिक एक स्थानीयको घर भाडामा लिएर प्रहरी पोष्ट स्थापना गर्न लागिएको जानकारी दिए । घारिबथानमा प्रहरी चौकी स्थापना गर्न स्थानीयको माग बमोजिम जिल्ला सुरक्षा समितिले निर्णय गरेर मन्त्रालयमा पत्र लेखेर पठाएको थियो ।

सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रविन्द्रबहादुर सिंहले केही दिनभित्रै घारिबथानमा प्रहरी पोष्ट स्थापना गर्ने तयारी रहेको बताए । उनका अनुसार तत्काल प्रहरी सहायक निरीक्षक (असइ) को नेतृत्व रहने गरी प्रहरी पोष्ट राखिने छ ।

घारिबथानमा अहिले बयलवासस्थित इलाका प्रहरी कार्यालय केशरगन्ज मातहत रहेको प्रहरी चौकी फूलजोरले शान्ति, सुरक्षा प्रदान गर्दै आइरहेको छ ।

पूर्व पश्चिम राजमार्गस्थित प्रहरी चौकी फूलजोरदेखि नौ किलोमिटर उत्तरमा पर्ने घारिबथानका स्थानीयले लामो समयदेखि आफ्नै गाउँमै प्रहरी चौकी स्थापना गरिदिन माग गर्दै आइरहेका थिए ।