logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

एक महिनामा नौ करोडको तरकारी बिक्री


  • उज्यालो अभियान

लालबन्दी, ०६ जेठ – मधेश प्रदेशको प्रमुख तरकारी बजारका रुपमा रहेको सर्लाहीको लालबन्दीस्थित तरकारी बजारमा किसानले एक महिनामा नौ करोड बढीको तरकारी बिक्री गरेका छन् ।

कृषि थोक बजार व्यवस्थापन समितिका अनुसार लालबन्दीको डुमडुमेस्थित थोक तरकारी बजारबाट वैशाख महिनामा किसानले बिक्री गरेको नौ करोड ३६ लाख ४५ हजार ५०० रुपियाँको तरकारी देशका विभिन्न बजारमा पुगेका छन् ।

किसानले वैशाखमा सबैभन्दा धेरै तीन करोड ८३ लाख ५२ हजार रुपियाँको गोलभेँडा बिक्री गरेका छन् । लालबन्दी गोलभेँडा उत्पादनमा प्रख्यात छ । गोलभेँडापछि किसानले सबैभन्दा धेरै एक करोड १५ लाख ७६ हजार रुपियाँको बोडी बिक्री गरेका छन् ।

उत्पादनको मुख्ययाम भएकाले यहाँका किसानले अहिले धमाधम बोडी फलाइ रहेका छन् । लालबन्दी बजारमा किसानले बैशाख महिनामा ६७ लाख २८ हजार रुपियाँको सिमी, ६२ लाख ५५ हजार ७५० रुपियाँको करेला, ५४ लाख २० हजार २५० रुपियाँको हरियो खुर्सानी, ३७ लाख ३० हजार ५०० रुपियाँको भिन्डी, २८ लाख ९८ हजार रुपियाँको परबल, २४ लाख २० हजार रुपियाँको कागती बिक्री गरेका बजार व्यवस्थापन समितिको तथ्याङ्कले देखाउँछ ।

लालबन्दी बजारमा ल्याएर किसानले बिक्री गर्ने गरेको तरकारी स्थानीय उपभोक्तामाझ खपत हुनुका साथै काठमाडौँ, पोखरा, नारायणघाट, गौर, चन्द्रनिगाहपुर, मलङ्गवा, जनकपुर, सिन्धुली, कटारी र सोलुखुम्बुसम्म पुगेको बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए ।

केही व्यापारीले यहाँको तरकारी किनेर मोटरसाइकलमा राखी सीमापारी भारतीय बजारसम्म पनि पु¥याउने गरेका घिमिरेले बताए ।

बजारमा प्रत्येकजसो हरियो तरकारी सहज रुपमा बिक्री हुने भएकाले लालबन्दी र आसपासको पालिकाका किसानको आम्दानीको प्रमुख स्रोत नै तरकारी खेती बन्दै गएको छ ।