हरिपुर, ०५ जेठ – सर्लाहीको हरिपुर नगरपालिकाले आफ्ना जनप्रतिनिधि, न्यायीक समितिका सदस्य र विषयगत शाखाका प्रमुखलाई न्याय सम्पादन तथा कानून निर्माण सम्वन्धी ३ दिने तालिम प्रदान गरेको छ ।
नगरपालिकाको न्यायीक समितिको कार्यालयले आयोजना गरेको तालिमको आज समापन गरिएको हो । सहभागीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका कानूनी सचिव राजन नेपाल, सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मी, जिल्ला सरकारी वकील कैलाश दाहाल, सहायक सरकारी वकील नारायणप्रसाद घिमिरे, सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारी, तहशिलदार चिरन्जीवी बस्नेतलगायत भएर तालिम प्रदान गरेका छन् ।
तालिमका सहभागीलाई आज उपमेयर निलमदेवी राय यादवको प्रमुख आतिथ्यतामा प्रमाण पत्र वितरण गर्दै समापन गरिएको हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापाले जानकारी दिए । उनका अनुसार सहभागीले न्यायीय समितिको काम, कर्तव्य र अधिकारसहित स्थानीय तहसम्वन्धी अन्य कानूनबारे तालिमबाट प्रष्ट हुन पाएको धारणा राखेका छन् ।