बयलवास, ०३ जेठ – भारतको कश्मिरमा लगेर बन्धक बनाइएका मजदुर आज बिहान नेपाल आइपुगेका छन् ।
सर्लाही, महोत्तरी र धनुषाका ३५ जना मजदुर आज बिहान सर्लाहीको मलंगवा नाका हुँदै नेपाल आइपुगेका हुन् । उनीहरुलाई मंगलबार दिल्लीस्थित नेपाली राजदूतावास र सामाजिक संस्था किन इन्डियाको समन्वयमा उद्धार गरिएको थियो ।
उद्धार गरिएका ३५ मध्ये १२ जना सर्लाहीको ईश्वरपुर नगरपालिकाका युवा रहेका नगरप्रमुख मनोजकुमार आचार्यले बताए । १२ जना मुसहर (माझी) समुदायका हुन् ।
तीनवटै जिल्लाका मजदुरलाई आज दिउँसो ईश्वरपुर नगरपालिकाले कार्यालयमा ल्याएर सम्मानसहित आ–आफ्नो घर पठाएको नगरप्रमुख आचार्यले बताए ।
ईश्वरपुर नगरपालिकाले मजदुरलाई उद्धार गरी ल्याउने कार्यमा अहम भूमिका निर्वाह गरेको भन्दै किन इण्डियाका निर्देशक नवीन जोशी, किन इन्डियाका कन्सुलर सृष्टी विष्ट र लक्ष्मी विष्ट र सामाजिक अभियन्ता सरोज रायलाई सम्मान पत्रसहित सम्मान गरेको छ ।