logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

एमाले सर्लाहीको नयाँ नेतृत्व चयन गर्न आज मतदान


  • उज्यालो अभियान

अध्यक्षमा उम्मेदवारी दिएका साह, प्रसाई र यादव । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, ०२ जेठ – नेकपा एमाले सर्लाहीको नवौं जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयन गर्न आज मतदान हुँदै छ ।

मतदान अब केहीबेरपछि मलंगवास्थित कुसुम पार्टी प्यालेसमा सुरु हुन लागेको हो । एमाले सर्लाहीको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ ।

नवौं जिल्ला अधिवेशनको बन्दसत्र अन्तर्गत निर्वाचन समितिले हिजो मनोनयन दर्ताको समय छुट्याएको थियो । जसमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष राजनारायण साहसहित गणेशप्रसाद प्रसाई र जयप्रकाश यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष विदुरकुमार प्याकुरेलसहित पार्वती विश्वकर्मा र प्रकाश थापाले उम्मेदवारी दिएका छन् । विश्वकर्मा र थापा निवर्तमान उप–सचिव हुन् ।

यसैगरी सचिवमा चूडामणि वाग्ले, बलराम पोख्रेल, डिल्लीप्रसाद अधिकारी र सुनील श्रेष्ठको उम्मेदवारी परेको छ ।

उप-सचिव खुल्लामा ७ जनाले उम्मेदवारी दिएका छन् । समिम खान, मोहन भण्डारी, बलराम स्माली मगर, सन्ताेष कुमार आचार्य, सन्जिवकुमार सिंह, अजयकुमार सिंह र लक्ष्मण साह कलवारले खुल्ला उप-सचिवमा उम्मेदवारी दिएका हुन् ।

उप–सचिव महिलामा विभा नेपाल, पार्वती रोका र एकावती चौधरीले उम्मेदवारी दर्ता गराएका निर्वाचन समितिले जनाएको छ । अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र खुल्ला तथा महिला गरी दुई उप–सचिवसहित पाँच जना पदाधिकारी र १२१ जना सदस्य निर्वाचित हुुने छन् । १२१ जना सदस्यमध्ये केही हिजै सर्वसम्मत रुपमा चयन भइसकेका छन् ।

अधिवेशनमा आयोजक कमिटीका १४९ जना, जनसङ्गठनबाट ७४ जना र वडाबाट चयन भएर आएका ३८७ जनासहित ६१० जना प्रतिनिधिले निर्वाचन प्रक्रियामा भाग लिने छन् ।

आयोजक कमिटीले मनोनित गरेका ३१ जना प्रतिनिधिको विषयमा भने अन्तिम समयमा आएर विवाद भएपछि उनीहरुले मतदानमा भाग लिन नपाउने भएका छन् ।