logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

एमाले जिल्ला अधिवेशन : उम्मेदवारी दर्ता कार्य सकियो, अध्यक्षमा तीन जनाको दावी


  • उज्यालो अभियान

अध्यक्षमा उम्मेदवारी दिएका साह, प्रसाई र यादव । (तस्बीर : उज्यालो अभियान)

मलंगगवा, ०१ जेठ – नेकपा एमाले सर्लाहीको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ ।

नवौं जिल्ला अधिवेशनको बन्दसत्र अन्तर्गत निर्वाचन समितिले आज मनोनयन दर्ताको समय छुट्याएको थियो । जसमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष राजनारायण साहसहित गणेशप्रसाद प्रसाई र जयप्रकाश यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।

उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष विदुरकुमार प्याकुरेलसहित पार्वती विश्वकर्मा र प्रकाश थापाले उम्मेदवारी दिएका छन् । विश्वकर्मा र थापा निवर्तमान उप–सचिव हुन् ।

यसैगरी सचिवमा चूडामणि वाग्ले, बलराम पोख्रेल, डिल्लीप्रसाद अधिकारी र सुनील श्रेष्ठको उम्मेदवारी परेको छ ।

त्यस्तै उप–सचिव खुल्लामा छ जनाले उम्मेदवारी दिएका छन् । समिम खान, मोहन भण्डारी, बलराम स्माली मगर, सन्जिवकुमार सिंह, अजयकुमार सिंह र लक्ष्मण साह कलवारले खुल्ला उप–सचिवमा उम्मेदवारी दिएका हुन् ।

उप–सचिव महिलामा विभा नेपाल, पार्वती रोका र एकावती चौधरीले उम्मेदवारी दर्ता गराएका निर्वाचन समितिले जनायो । अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र खुल्ला तथा महिला गरी दुई उप–सचिवसहित पाँच जना पदाधिकारी र १२१ जना सदस्य निर्वाचित हुुने छन् ।

निर्वाचन समितिका संयोजक रमेश न्यौपानेले भोली बिहान ८ बजेपछि कुसुम पार्टी प्यालेस मलङ्गवामा मतदान सुरु हुने उज्यालो अभियानसँग बताए ।

अधिवेशनमा आयोजक कमिटीका १४९ जना, जनसङ्गठनबाट ७४ जना, वडाबाट चयन भएर आएका ३८७ जना र आयोजक कमिटीले मनोनित गरेका ३१ जना प्रतिनिधि समेत गरी जम्मा ६४२ जनाले निर्वाचन प्रक्रियामा भाग लिने छन् ।

नेतृत्वका लागि हिजोदेखि नै सहमतीको प्रयास गरिए पनि सहमती जुट्न नसकेपछि अब मतदान नै हुने भएको हो ।