logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

एमाले जिल्ला अधिवेशन : आज उम्मेदवारी दर्ता


  • उज्यालो अभियान

मलंगवा, ०१ जेठ – नेकपा एमाले सर्लाहीको नवौं जिल्ला अधिवेशन अन्तर्गत आज उम्मेदवारी दर्ता हुँदै छ ।

निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय छुटाइएको हो । त्यसअघि सहमतीको प्रयास जारी रहने नेताहरुले बताएका छन् ।

सहमती जुट्न नसके आजै उम्मेदवारी दर्ता गरी भोली बिहान ८ बजेबाट मतदान सुरु गरिने छ । स्रोतका अनुसार नेतृत्वका लागि सहमती जुट्ने सम्भावना कम छ ।

अहिले तीनवटा समूह नेतृत्वका लागि प्रमुख आकांक्षी देखिएको छ । वर्तमान अध्यक्ष राजनारायण साह, हरिवन नगरपालिकाका पूर्व मेयर गणेश प्रसाद प्रसाई र नेता जयप्रकाश यादव प्रमुख आकांक्षीका रुपमा देखिएका छन् ।

अधिवेशनमा आयोजक कमिटीका १४९ जना, जनसंगठनबाट ७४ जना, वडाबाट चयन भएर आएका ३८७ जना गरी ६१० जना र आयोजक कमिटीले मनोनित गरेका ३१ जना प्रतिनिधि समेत गरी जम्मा ६४२ जना प्रतिनिधिले बन्द सत्र र निर्वाचन प्रक्रियामा भाग लिँदै छन् ।

अधिवेशनका कारण एमाले नेताहरु अस्ती आइतबारदेखि नै सदरमुकाम मलंगवा केन्द्रित भएका छन् । आइतबार अधिवेशनको उद्घाटन भई हिजोबाट बन्दसत्र प्रारम्भ भएको हो ।

बन्दसत्रले पार्टीको विभिन्न प्रतिवेदन पारित गरेको छ ।