मलंगवा, ३१ बैशाख – नेकपा एमाले सर्लाहीको नवौं जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजबाट बन्दसत्र सुरु हुँदैछ ।
मलंगवास्थित कुसुम पार्टी प्यालेसमा अहिले बिहानबाट बन्दसत्र सुरु हुन लागेको हो । बन्दसत्रको पहिलो दिन आज सर्वसम्मत रुपमा नेतृत्व चयनको प्रयास हुने नेताहरुले बताएका छन् ।
यदि आज सहमती जुट्न नसके भोली लोकतान्त्रिक विधिपद्धति अनुसार निर्वाचनमार्फत नेतृत्व चयन गरिने निर्वाचन समितिले जनाएको छ । स्रोतका अनुसार नेतृत्वका लागि सहमती जुट्ने सम्भावना कम देखिन्छ । अहिले तीनवटा समूह नेतृत्वका लागि प्रमुख आकांक्षी देखिएको छ ।
एमाले सर्लाहीको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष राजनारायण साह, हरिवन नगरपालिकाका पूर्व मेयर गणेश प्रसाद प्रसाई र नेता जयप्रकाश यादव प्रमुख आकांक्षीका रुपमा देखिएका छन् । उनीहरुको प्यानलसहित चुनावी मैदानमा उत्रने तयारी छ ।
अधिवेशनमा आयोजक कमिटीका १४९ जना, जनसंगठनबाट ७४ जना, वडाबाट चयन भएर आएका ३८७ जना गरी ६१० जना र आयोजक कमिटीले मनोनित गरेका ३१ जना प्रतिनिधि समेत गरी जम्मा ६४२ जना प्रतिनिधिले बन्द सत्र र निर्वाचन प्रक्रियामा भाग लिँदै छन् ।
अधिवेशनको हिजो दिउँसो मलंगवास्थित कभर्ड हलमा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका थिए ।